खुला |

सालकको अस्तित्व सङ्कटमा


केशव पौडेल

काठमाडौँ, फागुन १९ गते । खपटायुक्त स्तनधारी जीव सालकको अस्तित्व सङ्कटमा परेको छ । अवैध रूपमा खपटाको कारोबार बढेसँगै सालकको अस्तित्व खतरामा परेको हो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रमुख प्रहरी नायब महानिरीक्षक सहकुलबहादुर थापाले सालकको खपटा बहुमूल्य रहेको विश्वासमा परेर सालक मार्ने गरेको तर पछि सोचेअनुसार पैसा नपाएपछि र पक्राउ परेपछि पश्चात्ताप गर्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “सालक दुर्लभ प्राणी भएकाले यसलाई मार्न रोक्न सबैले प्रयास थाल्नुपर्छ । ”
एउटा सालकको खपडाको मूल्य नेपाली बजारमा पाँच हजार रुपियाँ पनि नहुने तर लाखौँ रुपियाँ पाउने आशामा लोप हुने अवस्थामा रहेको सालक मारिने गरेका छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु् ऐनअनुसार संरक्षित सालक मार्नेलाई सातदेखि १५ वर्षसम्म कैद तथा एक लाखदेखि पाँच लाख रुपियाँसम्म जरिवाना हुन्छ ।
काठमाडौँका डिभिजनल वन अधिकृत बद्री कार्कीले मानिसलाई कुनै पनि क्षति नपु¥याउने थाहा हुँदाहुँदै पनि राम्रो मूल्य आउने सुनेको भरमा सालक मार्ने गरेको बयान दिने गरेको बताउनुभयो ।
नेपालमा २४ प्रकारका वन्यजन्तु सङ्कटापन्न वन्यजन्तुको सूचीमा समावेश छन् । तीमध्ये सालक पनि पर्छ । विश्वमा आठ किसिमका सालक पाइन्छ भने नेपालमा दुई प्रजातिका सालक पाइने गरेको छ ।
नेपालमा पाइने कालो सालक अति सङ्कटापन्न र तामे सालक सङ्कटापन्न अवस्थामा पुगेपछि त्यसलाई संरक्षण गर्न वन विभागले सालक जोगाउने अभियान नै सञ्चालन गरेको छ । विश्वमै खपटायुक्त एक मात्रै स्तनधारी जनावर रहेको सालकले एक वर्षमा एउटा मात्रै बच्चा जन्माउने
गरेको छ ।
शाकाहारी र मानिसलाई कुनै क्षति नपु¥याउने सालकलाई मानिसको मित्र जनवार मानिन्छ । एउटा वयस्क सालकले प्रतिवर्ष सात करोड कीरा तथा धमिरा खाने भएकोले कृषि क्षेत्रमा पाइने हानिकारक कीरा नियन्त्रणमा गरी करोडौँ रुपियाँको क्षति कम हुन्छ ।