खुला | समाज |

राना र कठरिया थारु समुदायमा ‘होरी’ पर्व सुरु

अविनाश चौधरी

धनगढी, चैत ५ गते । कैलाली र कञ्चनपुरमा बसोबास रहेको आदिवासी जनजाति राना र कठरिया थारु समुदायमा ‘होरी’ पर्वको रौनक सुरु भएको छ । एक महिनाभन्दा बढी दिन धुमधामका साथ मनाइने यस पर्वमा दुवै समुदायका मानिस रमाउन थालेका छन् । राना थारु समुदायले माघ पूर्णिमादेखि फागुन पूर्णिमासम्म गरेर एक महिना आठ दिन र कठरिया थारु समुदायले करिब एक महिनासम्म होरी पर्व मनाउँदै आएका छन् । स्थानीय भाषामा होरी भनेको होली पर्व हो । दुवै समुदायको यो सबैभन्दा ठूलो पर्व हो ।

पर्व सुरु भएसँगै यी समुदायका बसोबास रहेको गाउँबस्तीमा रौनक थपिएको छ । राना थारु गाउँहरुमा राति होरी नाच नाच्न थालिएको छ । माघ पूर्णिमादेखि नै होरी सुरु भइसकेको राना थारु समुदायका अगुवासमेत रहनुभएका नारायण रानाले बताउनुभयो । उहाँले खक्डेहरा फुटाउने दिनसम्म गरेर एक महिना आठ दिन होरी पर्व मनाउने चलन रहेको जनाउनुभयो । यो समुदायमा चीर दहन नगर्दासम्म राति होरी नाच नाच्दै रमाउने चलन रहेको छ । यसरी होलिका दहनभन्दा अगाडिसम्म ‘जिन्दा होरी’ भन्ने गरिएको छ । त्यसैगरी, चीर दहनपछि भने रङ, अबिरको साथमा दिनमा होरी खेल्ने गरिन्छ । जसलाई ‘मरी होरी’ भन्ने गरिएको रानाले बताउनुभयो ।

रानाथारु समुदायको होरी पर्वको अन्तिम र सबैभन्दा महत्वपूर्ण दिन खक्डेहरा हो । यो दिन होरी पर्व बिसर्जन गरेर मिठो, मिष्ठान खाने चलन छ । खक्डेहराको दिन सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशभर सार्वजनिक विदा दिँदैआएको छ । होरी पर्वमा साली नाता पर्नेले आफ्नो भिनाजु वा नजिकका मित्रलाई निम्तो गरेर मिठो मसिनो खुवाउने चलन छ । पाहुना बस्न गएका भिनाजु वा मित्रले आफ्नो क्षमतानुसारको रुपियाँ वा श्रृङ्गारका सामान दक्षिणा दिने चलन रहेको बताइएको छ । यस्तै, कैलालीमा बसोबास गर्ने कठरिया थारु समुदायले पनि धुमधामसँग होरी पर्व मनाइरहेका छन् । युवायुवती तथा महिला घरघरमा होरी नाच नाचेर उल्लासपूर्वक होरी मनाउन थालेका हुन ।

कठरिया थारु समुदायमा चार प्रकारको होरी नाच हुने गरेको जनाइएको छ । सो समुदायका अगुवाहरुका अनुसार ठर्मा होरीमा पुरुषमात्रै सहभागी भएर नाचगान गर्ने गर्दछन् । यसैगरी, पाका पुरुषमात्रै सहभागी भएर नाचिने होरीलाई बन्ना होरी भन्निछ । महिलामात्रै नाच्ने मिच्चा होरी र महिला पुरुष दुवै मिलेर नाच्ने होरीलाई आधुनिक होरी भन्ने गरिएको छ ।
होरी पर्वमा मिठा–मिठा परिकार बनाएर खाने चलन समेत रहेको रहेको कैलारी गाउँपालिका–१ मझरा गाउँका डिल्लीराज कठरियाले बताउनुभयो ।
कैलाली, कञ्चनपुरमा मात्रै बसोबास रहेको दुवै समुदायको जनसंख्या नेपालमा थोरै रहेको छ । छुट्टै सांस्कृतिक पहिचान भएका दुवै समुदायले धुमधामका साथ होरी पर्व मनाउँदै आएका छन् । दुवै समुदायको भेषभूषा, रहनसहन एक–आपसमा नमिले पनि उनीहरुले मनाउने पर्वको नाम भने मिलेको छ । दुवै समुदायले होरी नाच नाचेर होरी पर्व मनाउँदै आएका छन् ।
कैलारी गाउँपालिका–१ मझरा गाउँमा होरी नाच नाच्दै कठरिया थारु समुदाय । तस्बिर ः अविनाश चौधरी