खुला |

रथ निर्माणमा जुटे स्थानीय


यलु जोशी

भक्तपुर, चैत २१ गते । ऐतिहासिक तथा सांस्कृतिक महìव बोकेको भक्तपुरको बिस्काः (बिस्केट) जात्राको रथ निर्माणमा स्थानीय जुटेका छन् । अहिले भक्तपुरको टौमढिस्थित ङातापोल्हँ अर्थात् पाँच तले मन्दिर अगाडि बिस्काः जात्राका लागि भैरवनाथको रथ निर्माण भइरहेको छ ।
यो रथ ३५ फिट अग्लो तीन तले प्यागोडा शैलीमा निर्माण गरिने नाइके प्रेमलाल शिल्पकारले जानकारी दिनुभयो । रथमा १० फिट अग्ला चारवटा पाङ्ग्रा हुनेछन् ।
नाइके शिल्पकारले भन्नुभयो, “यस वर्ष पाङ्ग्रा, गल, पोल्ह (छाना) र बाहिर देखिने अधिकांश सामान सबै नयाँ छन् ।’ चैत २८ गते सुरु हुने जात्राका लागि अहिले तयार गर्नुपर्ने बताउँदै उहाँले भैरवको बाहिरी ढाँचा तयार भइसकेको जानकारी दिनुभयो ।
परम्परागत शैलीमा बनाइने भैरवनाथको रथमा आधुनिक किलाको प्रयोग नहुने रथ निर्माणमा सहयोग गरिरहनुभएका मोहित ख्वाखःले बताउनुभयो । नाइके शिल्पकारले किलालगायतका आधुनिक सामग्री प्रयोग गरिए रथ बलियो नहुने दाबी गर्नुभयो ।
भैरवनाथको रथलाई मोटो डोरीको सहायताले दुवैतिरबाट तानिन्छ । रथलाई आ–आफ्नो टोलतिर लैजान प्रतिस्पर्धा हुने भएकाले रथ बलियो हुनुपर्छ । लिच्छवीकालदेखि सुरु भएको यो जात्रा वैशाख १ गतेभन्दा चार दिनअघि भैरव र भद्रकालीको रथ तानेर सुरु गरिन्छ र चार दिन पछिसम्म चल्छ ।
गुठी संस्थान शाखा कार्यालय सूर्यविनायकका प्रमुख आनन्द कर्माचार्यले भन्नुभयो, “यो जात्रा नयाँ वर्षको चार दिनअघि र चार दिनपछि गरेर नौ दिन आठ रात मनाउने प्रचलन छ ।” जात्रामा भैरवनाथको रथमा भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराई पाँच तले मन्दिर प्राङ्गणबाट माथिल्लो र तल्लो क्षेत्रमा रथलाई तानेर लैजाने परम्परा रहेको संस्कृतविद् ओम धौभडेलले जानकारी दिनुभयो ।
यो वर्ष भैरवनाथको रथ चैत २८ गते तानिने भएको छ । जात्रा हेर्न बिहानैदेखि भक्तपुर, ललितपुर, काठमाडौँ, काभ्रे र सिन्धुपाल्चोकदेखि मानिस भक्तपुर आइपुग्छन् ।