खुला | पर्यटन |

अति सङ्कटापन्न खरमुजुरको गणना सुरु


अविनाश चौधरी
धनगढी, वैशाख ८ गते । अति सङ्कटापन्न चराको सूचीमा रहेको खरमुजुरको बुधबारदेखि नेपालमा गणना सुरु भएको छ । खरमुजुर पाइने शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसहित मुलुकको चार संरक्षित क्षेत्रमा गणना सुरु गरिएको हो । विश्वमै अति सङ्कटापन्न मानिने खरमुजुरको सङ्ख्या र अवस्था पत्ता लगाउने उद्देश्यले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको सहकार्यमा पङ्क्षी संरक्षण सङ्घ (बीसीएन) नेपालले छ वर्षपछि नेपालमा खरमुजुरको गणना गर्न थालेको हो ।
हालसम्म खरमुजुर पाइएका शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, कोशीटप्पु वन्यजन्तु आरक्ष, चितवन राष्ट्रिय निकुञ्ज र बर्दिया राष्ट्रिय निकुञ्जमा गणना हुने बीसीएनका कार्यकारी अधिकृत इशाना थापाले बताउनुभयो ।
उहाँका अनुसार यसअघि नेपालमा सन् २०१५ मा खरमुजुरको गणना भएको थियो । त्यो बेला नेपालभरि मात्र ६४ को हाराहारीमा खरमुजुरको तथ्याङ्क अभिलेख गरिएको थियो । सबैभन्दा बढी कोशीटप्पु वन्यजन्तु आरक्षमा ५० वटा खरमुजुर फेला परेका थिए । त्यसपछि, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा नौ वटा र चितवन राष्ट्रिय निकुञ्जमा पाँच वटा खरमुजुर देखिएका थिए ।
बर्दिया राष्ट्रिय निकुञ्जमा भने यसअघिको गणनाका क्रममा खरमुजुर फेला परेनन् । सो निकुञ्जमा खरमुजुर रहेको भनिए पनि त्यहाँ करिब ६÷७ वर्षदेखि खरमुजुर देखिन छाडेको थापाको भनाइ छ ।
‘अहिले त चितवन राष्ट्रिय निकुञ्जमा पनि देखिन्छन् कि देखिन्नन् भन्नेछ’, उहाँले भन्नुभयो । ‘किनभने, चितवन राष्ट्रिय निकुञ्जमा जम्मा पाँच वटा खरमुजुर देखिएका थिए । अब फेला पर्छन् की पर्दैनन् ।’
कुनै बेला कोशीटप्पु वन्यजन्तु आरक्षमा पनि खरमुजुर थोरै सङ्ख्यामा देखिएका थिए । तर, २०१५ को गणनामा त्यहाँ सङ्ख्या बढेर नेपालमै सबैभन्दा बढी रहेको छ ।
खरमुजुर नेपालसहित भारत, भियतनाम र कम्बोडिया गरी विश्वको चार राष्ट्रमामात्रै पाइने गरेको बताइन्छ । यो चरा ३०५ मिटरभन्दा तलका भू–भागमा पाउने गरिएको छ । ‘अब कम्बोडियामा पनि हराउन थालेको भनिएको छ’, चराविद् हिरुलाल डङ्गौराले भन्नुभयो । ‘नेपाल र भारतबाट खरमुजुर हराएपछि यो चरा विश्वबाटै हराउनेछ ।’
खरसहित घाँसे मैदानमा खरमुजुर बस्ने गरेको बताइएको छ । यसैगरी, कतिपय समय यो खेतवारीमा पनि पुग्ने गरेको जनाइएको छ । बच्चा कोरल्ने बेला भाले खरमुजुर जमिनमाथि उफ्रिँदै अनौठो दृश्य देखाउने गरेको बताइएको छ ।
यो चराको बसोबास क्षेत्र मानिने घाँसे मैदान तीव्र रुपमा ह«ास भइरहेको छ । घाँसे मैदानको विनाश हुँदै जानु र त्यस्ता क्षेत्रको उपयुक्त व्यवस्थापन नहुनुले खरमुजुरको सङ्ख्या घट्दै गएको बताइन्छ । यसैगरी, विश्वमै दुर्लभ यो चराको सिकार पनि हुने गरेको बताइएको छ । घाँसे मैदान कृषि क्षेत्रमा परिणत हुनु, ठूला बाढी, मिचाहा प्रजातिको फैलवाट, बाँध निर्माण, अस्वभाविक विकास कार्यलगायत विभिन्न कारण सङ्ख्या तीव्र रुपमा कम हुँदै गइरहेकाले यो चरा लोप हुने अवस्थामा पुगेको थापाको भनाइ छ ।
नेपालमा खरमुजुर हालसम्म संरक्षित क्षेत्रभन्दा बाहिर पाएको रेकर्ड छैन । नेपाल सरकारले यो चरालाई संरक्षित चरा प्रजातिको सूचीमा राखेको छ ।