स्रोत नखुलेको ३० लाख रकमसहित दुईजना भारतीय नागरिक पक्राउ
सञ्जय कुमार मिश्र
गौर, जेठ २६ गते । भारतबाट नेपालतर्फ ल्याउदै गरेको स्रोत नखुलेको ३० लाख ७६ हजार अवैध रकमसहित दुईजना भारतीय नागरिकलाई बुधवार बिहान प्रहरीले पक्राउ गरेका छन ।
रौतहट जिल्लाको परोहा नगरपालिका ९ रामपुरखापस्थित नेपाल भारत सिमामा प्रहरीले चेकजाँज गर्ने क्रममा स्रोत नखुलेको उक्त अवैध रकमसहित दुईजना भारतिय नागरिकलाई प्रहरीले पक्राउ गरेको हो ।
भारतबाट नेपालतर्फ आउँदै गरेको बिरआर ०५ आर ४५२१ नम्बरको मोटरसाइकल रोकी चेकजाँज गर्दा मोटरसाईकल चालक र पछाडि सवारहरुले बोकेको नाइलनको झोलामा र उनीहरुको साथबाट स्रोत नखुलेको ३० लाख ७६हजार नेपाली रुपैया बरामद भएको प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले बताउनुभयो ।
स्रोत नखुलेका अवैध रकम सहित मोटरसाईकल चालक भारत बिहार राज्य मोतिहारी जिल्ला घोडासहन बस्ने २२ वर्षको बन्टिकुमार कलवार र पछाडि सवार सोही ठाउँका २० वर्षीय सुरज कलवारलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक शाहले जानकारी दिनुभयो ।
अवैध रकम, मोटरसाईकल सहित पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।