खुला | फोटो फिचर |

बाँदर भुलाउने उपाय, जङ्गलमै फलफूल खेती (फाेटाे फिचर)

अमरराज नहर्की
तनहुँ, असार १२ गते । बाँदर भुलाउने उपायको लागि तनहुँमा डिभिजन वन कार्यालयद्धारा जङ्गलमै फलफूल खेती गरिएको छ । बाँदरले बालीनाली नोक्सान पु¥याएर कृषक हैरान भएपछि विकल्पस्वरुप समुदायिक वनमा फलफूल खेती गरिएको हो ।
कार्यालयले जिल्लाकै उत्कृष्ट सामुदायिक वन म्याग्दे गाउँपालिका–२ को उमाचोक सामुदायिक वनमा विरुवा रोपण गरी फलफूल खेती शुरु गरेको छ । म्याग्दे गाउँपालिकाकी अध्यक्ष मायादेी रानामगरले बालीनाली नोक्सान गर्ने मात्र नभई महिला तथा केटाकेटीलाई आक्रमण गर्न थालेपछि बाँदर आतङ्कबाट बच्न फूलफूल खेती गर्न माग राखेर गएको र डिभिजन वन कार्यालयले मद्धत गरेको जानकारी दिनुभयो । फलफूलका पुराना रुखहरु मासिन थाले, मकै खेती पनि गर्न छाडेपछि बाँदर घर घरमा आएर आतङ्क मञ्चाउन थालेकोले उत्कृष्ट सामुदायिक वनमा फलफूल खेती शुरुवात गरेका छौं’’ अध्यक्ष मायाले गोरखापत्र अनलाइनसँग भन्नुभयो । कार्यालयको फलफूल रोपणको शुरुवात अध्यक्ष मायाले गर्नुभएको थियो । सो अवसरमा अध्यक्ष रानाले बाँदर जङ्लमा बस्ने भएपनि खानेकुराको अभाव भएकाले बस्तीमा आउने स्मरण गर्दै फलफूल रोपण कार्यक्रम वडा नम्बर २ को जस्तै अन्य सामुदायिक वनमा बिरुवा लगाउन जरुरी रहेको बताउनुभयो । जङ्गलमा खानेकुरा पाउन छाडेपछि बस्तीमा पसेर खेती नष्ट गर्ने, अन्नवाली खोज्न घरघर चाहार्ने गरेकोले बाँदरबाट कृषक हैरान भएकोले जङ्गलमै भुलाउन फलफूल खेती गरिएको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ । जङ्गलमै फलफूल भएपछि त्यतै भुलेर बस्तीतिर नआउने भएकोले फलफूलको विरुवा लगाउन र हुर्काउन स्थानीय वासिन्दा उत्साहित भएर लागेको उमाचोक सामुदायिक वनका अध्यक्ष श्यामलाल श्रेष्ठले बताउनुभयो । नमुना फलफूल व्यवस्थापन गर्ने उद्धेश्य सहित उत्कृष्ट वनबाटै शुरुवात गरिएको फूलफूल रोपण कार्यक्रममा जानकारी दिईएको थियो ।
तनहुँमै पहिलो पटक उमाचोकबाट बाँदरलाई जङ्गलमै भुलाउन फलफूलका विरुवा रोपण गरिएको सव डिभिजन वन कार्यालय म्याग्देका प्रमुख मनोज रानाभाटले जानकारी दिनुभयो । फलफूल कार्यक्रमको लागि डिजिन वन कार्यालय तनहुँले सात लाख ५० हजार सहयोग गरेको र २० प्रतिशत सामुदायिक वनको लागत साझेदारी गर्ने रानाभाटले बताउनुभयो । जिल्लामा जङ्गलमा फलफूल खेती गर्ने अभियान नै सञ्चालन गरिएको र म्याग्देबाट शुरु गरिएको डिभिजन वन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार अभियानको क्रममा ८५० वटा फलफूलका बिरुवा लगाइएको छ । तीन लाख विरुवा मध्ये र जङ्गलमा फलफूल खेती गर्नको लागि १० प्रतिशत फलफूलका रहेको सहायक वन अधिकृत अर्जुन पराजुलीले जानकारी दिनुभयो । प्रति विरुवा जडीबुटीको लागि २० र बाँकीको लागि १५ रुपियाँ खर्च लागेको उहाँले जानकारी दिनुभयो । मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणको लागि फलफूलका बिरुवा चिउरी, कटहर, जामुन, बेलाैती (अम्बा), अमला, काफल, चेरी, बडहर, लप्सी, वर्रा, टिमुर, आँपका विरुवा वितरण भइरहेको डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले जानकारी दिनुभयो । ‘‘गुलेलीले हिर्काए पनि आहारा नपाए बस्तीमा आउन छाड्दैनन् दीर्घकालिी बाँदर आतङ्कको समाधानको लागि जङ्गलमा बाँदरले खाने फलफूलका बिरुवा हुर्काउनुको विकल्प छैन’’ कार्यालय प्रमुख काफ्लेले भन्नुभयो ।