खुला |

सहकारीकाे श्रृङ्खलावद्ध चोरीमा संलग्न अभियुक्त पक्राउ

देवबहादुर कुँवर
काठमाडौँ, असार १३ गते । राजधानीको विभिन्नस्थानमा श्रृङ्खलावद्ध सहकारी चोरी घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले नुवाकोट वेलकोटगढी नगरपालिका–९ का २२ वर्षीय दीपक गजुरेललाई आइतवार अनामनगरबाट पक्राउ गरेको छ ।

सहकारी चोरी तथा लागूऔषध मुद्धामा पाँचवर्ष जेल सजाय कटाएर गत मङ्सिर केन्द्रीय कारागार सुन्धाराबाट रिहाइ भएका अभियुक्त गजुरेलले २०७७ साल माघ १५ गतेदेखि २०७८ साल जेठ १३ गतेसम्म सातवटा सहकारी चोरी गरेको दावी प्रहरीको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौँ प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले ‘सुकेको ज्यानमा फुकेको तागत भने जस्तो’ झट्ट हेर्दा पत्यारै नलाग्ने केटा (अभियुक्त दीपक)को सातवटा सहकारी चोरीमा संलग्नता रहेको बताउनुभयो ।

वि.सं २०७७ सालको माघ १५ गते राति बानेश्वरस्थित वेविलोन उपभोक्त, २१ गते शंखमुलस्थित घरसंसार, फागुन १३ गते गौशालाको पन्चश्री, १४ गते कोटेश्वरको स्वामी, चैत ४ गते सन्दुक, २०७८ साल वैशाख १३ गते मैतीदेवीस्थित जेष्ठ आइडोलोजी र गौथली वचत तथा ऋण सहकारी चोरी भएको हो । विभिन्न सहकारीबाट करीव ४३ लाख ९७ हजार नगद, नौ तोला सुन, मोवाइल र ल्यापटप चोरी भएका छन् । प्रवक्ता बस्नेतका अनुसार, यी सातवटा सहकारी चोरी घटनामा अभियुक्त दीपकको संलग्नता रहेको छ ।

राजधानीको अनामनगरस्थित ‘स्पेस एक्स स्टुडियोका सञ्चालक समेत रहेका अभियुक्त दिपकले सहकारी चोरीकै पैसाले भब्य स्टुडियो निर्माण गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । पातलो ज्यान भएकाले भ्याटिलेसनबाट प्रवेश गरी सहकारी चोरी गरेको अभियुक्तले स्वीकारेका छन् ।

जोरपाटी कोठा भए पनि सहकारी चोरी गरेको रात सुत्न भने होटलमा बस्ने गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले बताएका हुन । अभियुक्तको साथबाट सिसा काट्ने मेसिन, शेफहरुको मास्टर चावी, सहकारीले सुन तथा नगद राखेको थैली (कपडा) र विभिन्न बैंकको खाताहरु बरामद भएका छन् ।

सहकारी चोरीमा अभियुक्त दीपकको एकल संलग्नता रहेको पाइएको छ । १८ वर्षको उमेरमा सहकारी चोरीमुद्धामा जेल सजाय काटेर रिहा भएको तीन महिना नवित्दै सहकारी चोरी गरी त्यसबाट प्राप्त रकमले स्टुडियो खोली ‘तिमी नबोलेकै राम्रो’ गीत सार्वजनिक गरेके आरोप प्रहरीको छ ।