मनाङको सडक मर्मत अझै दुई महिना लाग्ने
गाेरखापत्र अनलाइन
काठमाडौं, असार १४ गते । असार १ गते मस्याङदी नदीमा आएको बाढीले क्षति पुगेको मनाङ पुग्ने सडक निर्माण गर्न अझै दुई महिना लाग्ने भएको छ । १२ वटाभन्दा बढी पुलमा निर्माण गर्नुपर्ने र सडकको ट्रेकनै परिवर्तन गरेर सडक निर्माण गर्नुपर्ने भएकाले अझैँ दुई महिनाभन्दा बढी लाग्ने मनाङका सहायक प्रमुख जिल्ला अधिकारी शारदा चालिसेले बताउनुभयो ।
मनाङको सदरमुकाम चामेबजारसम्म पुग्ने सडक र पुल बाढीले पूर्ण रुपमा क्षति पुर्याएको थियो । म्याग्दी पहिरोबाट सडक पार गरेर चामेसम्म पुग्न विभिन्न स्थानमा सडकको ट्रेक परिवर्तन गर्नु जरुरी भएकाले समय लाग्ने भएको चालिसेले जानकारी दिनुभयो । जेठ २९ गतेदेखि असार ३ गतेसम्म निरन्तर परेको पानीका कारण बाढी आएपछि सडक र पुलमा क्षति पुर्याएको थियो । जिल्ला प्रशासन कार्यालयले भने वेसिसडक–चामे सडक आयोजनालाई सडक मर्मत तथा सूचारु गर्न निर्देशन दिइसकेको सहायक प्रमुख जिल्ला अधिकारी चालिसेले जानकारी दिनुभयो ।
मर्स्याङ्दी नदीमा बाढी आएको र विभिन्न क्षेत्रमा गएको पहिरोले सडक अवरुद्ध हुन पुगेको छ । मनाङ जोड्ने मुल सडकनै अवरुद्ध हुदाँ खाद्यन्न, औषधी, इन्धनलगायतका अत्यावस्यक सामाग्रीहरु ढुवानीमा समस्या हुँदै आएको प्रशासनले जनाएको छ । सबै क्षेत्रसँग समन्वय गरी सडक मर्मतका कामलाई द्रुतगतिमा अघि बढाउन प्रशासन कार्यालय लागिपरेको समेत उहाँले जानकारी दिनुभयो ।
यता, सिन्धुपाल्चोकको मेलाम्ची नदी आसपासमा आएको बाढीले पुल र सडकमा क्षति पुर्याए पनि तत्काल यातायात सञ्चालन हुने गरी अस्थायी सडकहरु निर्माण भएको सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जानकारी दिनुभयो । ढुवानीमै समस्या हुने अवरोधहरु हटाएका छौँ, थप दीर्घकालीन निर्माण र मर्मतका काम पनि तत्काल शुरु गर्न सम्बन्धित निकायसँग परामर्श शुरु गरेको उहाँले बताउनुभयो ।