खुला | फोटो फिचर |

दरौंदीको मोटरेवल पुल भत्किँदा गोरखा बारपाक सडक अवरुद्ध (फाेटाे फिचर सहित)

नरेन्द्र ढकाल
गोरखा, असार १९ गते । बाढीले दरौंदी नदीको मोटरेवल पुलेको एक छेउ बगाएको छ । गोरखाको अजिरकोट गाउँपालिका ४ र बारपाक सुलिकोट गाउँपालिका ४ जोड्ने बालुवा बजारमा नजिकै रहेको मोटरेवल पुलको एकपट्टिको भाग बगाउँदा सडक अवरुद्ध भएको छ ।

‘दरौंदी पुलमुनीबाट बग्न छोडेर बालुवा बजारतर्फ बग्न थालेको छ,’ अजिरकोट ४ का वडाध्यक्ष जंगबहादुर गुरुङले जानकारी भन्नुभयो, ‘पुल र पिलरहरु एकतिर छ, खोला अर्को तिर बगेको छ ।’ बाढीले पुलसँग जोेडिएको १२÷१३ मिटर सडक बगाएको छ । अहिले गोरखा बारपाक सडक पूर्ण रुपमा अवरुद्ध बनेको उहाँले बताउनुभयो । ‘खोलामा पानी ठूलो छ । वारीपारी गर्ने अवस्था छैन,’ वडाध्यक्ष गुरुङले भन्नुभयो, ‘अलि माथि एउटा झोलुङ्गे पुल थियो । मोटरेवल पुल बनेपछि त्यसको रेखदेख भएन । काठका फल्याकहरु सबै झरेका छन् । अहिले आवतजावत ठप्प छ ।’ केही सर्वसाधरणहरु भने जोखिम मोलेर जिर्ण झोलुङ्गे पुल मार्फत आवतजावत गरिहेका छन् ।

उक्त पुल करिब तीन वर्ष अघि मात्र बनाइएको हो । गोरखा बारपाक सडक अहिले कालोपत्रेको क्रममा छ । वि.सं २०७२ वैशाख १२ गते गएको भूकम्पको केन्द्रबिन्दु बारपाकसहित लाप्राक, गुम्दा, सौरपानीलगायतका ठाउँमा जानका लागि उक्त पुलको प्रयोग हुने गर्छ ।