खुला |

गैँडा मर्न थालेपछि थपियो चुनौती

लक्ष्मीप्रसाद उपाध्याय

काठमाडौँ, साउन ८ गते । विश्वमै दुर्लभ मानिएको एकसिङे गैँडाको असल बासस्थान मानिएको चितवन राष्ट्रिय निकुञ्जमा पछिल्ला दिन निरन्तर गैँडा मर्न थालेपछि चुनौती थपिएको छ । गैँडा संरक्षणका लागि विज्ञहरूले स्थानान्तरण विकल्प हुनसक्ने
सुझाएका छन् ।
गत वर्षको साउनदेखि हालसम्म चितवन राष्ट्रिय निकुञ्जमा ३४ वटा गैँडा मरेका छन् । चार दिनअघि मात्र चितवन राष्ट्रिय निकुञ्जभित्र गैँडाको दुई महिनाको एउटा बच्चा र एउटा वृद्ध भाले गैँडाको प्राकृतिक कारणले मृत्यु भएको सूचना राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सार्वजनिक गरेको थियो । यस लगत्तै विज्ञहरूले गैँडाको संरक्षणमा चुनौती थपिएको भन्दै चितवनपछि अरू बासस्थानको विकास तत्काल गरिहाल्नुपर्ने सुझाव दिएका छन् ।
गैँडाको विषयमा विद्यावारिधि गर्नुभएका डा. नरेश सुवेदीका अनुसार चितवन गैँडाको असल बासस्थान कहलिएको ठाउँ भए पनि पछिल्ला दिनमा गैँडाको मृत्युदर बढ्दै गएकाले चितवनको विकल्पमा अरू ठाउँलाई पनि गैँडा बासस्थानका रूपमा विकास गर्नुपर्ने स्थिति देखिएको छ ।
गत वर्ष चितवनमा मात्र २८ वटा गैँडा प्राकृतिक कारणले मरेका छन् भने चारवटा गैँडा चोरी सिकारीबाट मारिएका छन् । चितवनमा हरेक वर्ष नारायणी नदीको बाढीले बगाएर, एकापसमा लडेर, दलदलमा भासिएर, बाघको आक्रमणमा परेर मृत्यु हुने दर वृद्धि भइरहेको छ । अर्काेतर्फ विचरणका लागि भारततर्फ जाने कारणले पनि चिवतनमा जति मात्रामा गैँडाको सङ्ख्या देखिनुपर्ने हो, त्यो सङ्ख्या नदेखिने गरेको विज्ञहरूको भनाइ छ ।
राष्ट्रिय प्रकृति संरक्षण कोष चितवनका प्रमुख डा. बाबुराम लामिछानेका अनुसार चितवनमा गैँडाको सङ्ख्या बढी भएर पनि मृत्युदर बढेको हो । दिन प्रतिदिन थपिएका चुनौती समाधान गर्न सकिएन भने चितवनमा गैँडाको सङ्ख्यामा ठूलो नोक्सानी हुन सक्छ । विभिन्न कारणले गैँडा मर्दै जाने दर बढेकाले ती समस्या समयमै सम्बोधन गर्न जरुरी छ ।
चिवतन राष्ट्रिय निकुञ्जले सन् २०११ देखि यता धेरै वर्ष शून्य सिकार वर्ष मनाउँदै आएको छ । गैँडा विज्ञ डा. सुवेदी गत वर्ष चोरी सिकारीबाट चारवटा गैँडा र प्राकृतिक कारणले २८ वटा गैँडा मरेको घटनाबाट पाठ सिक्दै चितवनभन्दा अरू स्थानलाई पनि गैँडाको बासस्थानका रूपमा विकास गर्नुपर्ने सुझाव दिनुहुन्छ ।
उहाँले थप्नुभयो, “चितवनमा ठूलो सङ्ख्यामा गैँडा रहेका छन् । बाढीले यही नोक्सानी गर्छ । चोरी सिकारको निसाना पनि चितवन नै बढी छ । सङ्ख्या बढी भएर जुधेर घाइते हुने अनि मर्नेजस्ता घटना चितवनमा बढिरहेका छन् । भारततर्फ पनि जाने गरेका छन् । त्यसैले बर्दिया तथा शुक्लाफाँटातर्फ स्थानान्तरण गरेर अरू बासस्थानको पनि विकास गर्न सक्नुपर्छ । ”
शुक्लाफाँटामा थप ५० वटा गैँडाका लागि बासस्थान रहेको यसअघिका विभिन्न अध्ययनले देखाएका छन् । डा. सुवेदीले भन्नुभयो, “चितवनमा गैँडा जुधाएर मार्नुभन्दा शुक्लाफाँटाको दक्षिणी भेग, बर्दियाको कर्णाली तटीय क्षेत्रमा स्थानान्तरण गरेर गैँडाको सङ्ख्यालाई सुरक्षित बनाउन सकिन्छ । आगामी दिनमा सरकारले त्यसतर्फ सोच्नु जरुरी छ । ”
चितवनको पश्चिमी क्षेत्रमा गैँडाको सङ्ख्या एकीकृत हुँदै गएकोले बासस्थानको समस्या पर्ने गरेको छ । डा. लामिछानेले थप स्पष्ट पार्नुभयो, “निकुञ्जको पश्चिमी त्रिवेणी क्षेत्रबाट केही गैँडाको आन्तरिक स्थानान्तरण गरी पूर्वी भेगमा ल्याउन सकेको खण्डमा पनि चितवनका गैँडाको मृत्युदरलाई कम गर्न सघाउ हुने देखिन्छ । ” सरकारले यसअघि गैँडाको बासस्थान विस्तार कार्यक्रमअन्तर्गत बर्दिया र शुक्लाफाँटामा गैँडाको स्थानान्तरण गर्दै आएको छ ।
डा. सुवेदी कोसी नदी तटीय क्षेत्रमा पनि गैँडाको बासस्थान उत्तम भएको अध्ययनले देखाएको हुँदा परीक्षणका रूपमा थोरै गैँडा कोसी टप्पुमा स्थानान्तरण गरेर हेर्न सकिने बताउनुहुन्छ । चितवनबाट सन् १९८६ मा नै गैँडा स्थानान्तरणको कार्यक्रम सुरु गरी बर्दिया र शुक्लाफाँटामा हाल गैँडाको अस्तित्व कायम हुँदै आएको छ ।