खुला |

मकैखेती गर्ने जग्गा बेपत्ता : बाँदर भोका रहन थाले

सरोज आचार्य

काठमाडौँ, साउन १२ गते । बाँदरलाई आहारा खुवाउन राखिएका जग्गा व्यक्तिले पचाउँदा बाँदर भोका हुन थालेका छन् । राजा पृथ्वीनारायण शाहका दरबारका कपर्दार भोटु पाँडेले बाँदरलाई मकै खुवाउनका लागि पकनाजोलमा आठ रोपनी जग्गा दिएका थिए । सो जग्गाको विवरण पाइएको छैन । रानीवनको २० रोपनी र अन्य ३६ रोपनी जग्गाको अवस्था पनि यस्तै अज्ञात छ ।
केन्द्रीय गुठी लगत तथा अभिलेख शाखा कार्यालय भद्रकालीका लगत प्रमुख राजेन्द्र दाहालले बाँदरले मकै खाएको चित्र कुँदिएको ताम्रपत्रमा यो जग्गाको विवरण उल्लेख भएको बताउनुभयो । वि.सं १८६५/६४ को ताम्रपत्रमा सो विवरण रहेको छ र पशुपति गुठी गोश्वाराको यो ताम्रपत्र भद्रकालीमा सुरक्षित छ ।
मकैका लागि राखिएको पकनाजोलको जग्गामा वडा कार्यालय छ । एउटा जग्गामा सोह्रखुट्टे प्रहरी कार्यालय छ भने अन्य जग्गा व्यक्तिले बाँडीचुँडी गरेको अवस्था रहेको १६ नं. वडा कार्यालयले जनाएको छ ।
रानीवनको ३६ रोपनी जग्गामा भने पूर्वराजा ज्ञानेन्द्र शाहको नागार्जुनमा निवास छ । अन्य खाली जग्गामा मकै रोप्न छोडिएको छ । जग्गा प्रशासन हेर्ने गुठी संस्थान कालमोचन शाखा प्रमुख हरिप्रसाद सुवेदीका अनुसार यी जग्गाको हालको भोगचलनबारे अनेक खोजी गर्दा पनि पाइएको छैन ।
यी जग्गाबाट पशुपति र गोरखनाथमा दैनिक एकमुरी मकै बाँदरलाई खुवाउनुपर्ने व्यवस्था थियो । पशुपतिनाथका कोटवाल पूर्णनारायण जोशीका अनुसार गुठीबाट अचेल बाँदरलाई मकै दिइँदैन । भोका बाँदर घरधुरीमा उफ्रिएर रातभर सुत्न दिँदैनन् । सिफल, जयवागेश्वरी, गौशाला, रातोपुल क्षेत्रमा फलफूल पसल खोल्न पनि समस्या छ । उहाँले बाँदर घरघरै पस्न थालेकाले पसल असम्भव भएको बताउनुभयो ।
भण्डारखालका श्याम बस्नेतले रातभरि जस्तामाथि भोका बाँदर उफ्रिएर सुत्न नदिने गरेको गुनासो गर्नुभयो । गुठी संस्थानका अधिकारीका अनुसार ललितपुर सुनाकोठीमा रहेको छ रोपनी जग्गा पनि कसले भोग गरिरहेको छ भन्ने अत्तोपत्तो छैन । यो जग्गा पनि बाँदरका लागि मकै उत्पादन गर्न राखिएको थियो ।