खुला |

मेलम्ची बजारका आसपास फोहरले भरिए

सिन्धुपाल्चोक, भदौ , २ : मेलम्ची नगरपालिकाले फोहोर उठाउन बन्द गरेपछि नगरवासी समस्यामा परेका छन् । हालैको अकल्पनीय बाढीले पुलबजार तथा पीपलबोट क्षेत्रका केही घरमा क्षति र केही घरका पसलमा बालुवा भरिएर पनि अन्य क्षेत्रका बजार सञ्चालनमा छन् । बाक्लो वस्ती भएकै कारण फोहोर पनि बढी नै निस्कने गरेको छ ।


नगरपालिकाले विगतमा हप्तामा दुई दिन फोहोर उठाउने गरेकामा मेलम्ची–इन्द्रावती बाढीपछि ठप्प भएको छ । नगरपालिकाले फोहोर प्रशोधन केन्द्रसमेत निर्माण गरी फोहोर व्यवस्थापनको तयारी गरेका बेला बाढीले केन्द्रको नामनिशाना समेत राखेन । अहिले फोहोर व्यवस्थापन नहुँदा बजार दुर्गन्धित बनेको व्यवसायी प्रकाश दाहालले बताउनुभयो । तत्काल अस्थायी रुपमा भए पनि व्यवस्था मिलाई फोहोर उठाउनुपर्नेमा आवश्यकता उहाँले औल्याउनुभो ।

होटल, तरकारी पसल, किराना पसल तथा घर–घरबाट निस्कने फोहार व्यवस्थापन नहुँदा अहिले मेलम्चीका खहरे खोला र बजार आसपासका छेउछाउ फोहोरले भरिएका छन् । कतिपयले फोहोर ढडाउने गर्दा प्रदूषण बढेको छ । प्लास्टिकजन्य पदार्थ समेत जलाउने गर्दा बजारमा बस्न समेत उकुसमुकुस हुने गरेको स्थानीयवासी नवराज दुलाल जानकारी दिनुभयो ।

अहिले नदीलाई पुरानै धारमा फर्काइ नदी किनारका बस्ती जोगाउन नगरपालिकाले उच्च प्राथमिकताका साथ काम गर्दा अन्य काममा ध्यान दिन सकेको छैन । दीर्घकालीन सोचका साथ फोहोर व्यवस्थापनका लागि ठाउँको खोजी भइरहेको नगरप्रमुख डम्बर अर्यालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “अस्थायी रुपमा भए पनि तत्काल केही गर्नुपर्छ भनेर नगरपालिका लागिपरेको छ ।”

बाढीले वितण्डा मच्चाएको मेलम्चीमा पछिल्लो समय पिउने पानी, फोहोरको व्यवस्थापन, स्वास्थ्य सतर्कता चुनौतीको विषय बनेको छ । समयमै यसतर्फ ध्यान नदिने हो भने कोभिड–१९ को सङ्क्रमण, पानीजन्य रोगको उच्च जोखिम हुन सक्ने बताइएको छ ।