भैरहवामा धेरै पानी, सात नदीका १५ स्थानमा खतराकाे तह पार
काठमाडौं, भदाै ११ गते । पछिल्लो २४ घण्टामा भैरहवामा सबै भन्दा धेरै पानी परेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार भैरहवामा २४ घण्टामा १६५ मिलिमिटर पानी परेको हो । देशकै सबैभन्दा धेरै पानी पर्ने क्षेत्र पोखरामा भने ७० मिलिमिटर मात्र पानी परेको विभागको तथ्याङ्क छ । भैरहवा पछि वीरेन्द्रनगरमा १०४ मिलिमिटर पानी परेको र नेपालगञ्ज ७६ मिलिमिटर पानी परेको छ । त्यसै गरी जनकपुर ५९ मिलिमिटर पानी परेको छ ।
विभागले देशको मुख्य १६ क्षेत्रबाट संकलन गरेको तथ्याङक अनुसार सबैभन्दा कम पानी जुम्लामा ०.७ मिलिमिटर परेको छ भने त्यस पछि विराटनगरमा २.८ र दिपायलमा ३.३ मिलिमिटर परेको थियो ।
मुख्य ७ नदीको १५ स्थानमा बाढीले खतराको तह पार गर्यो
लगातारको वर्षाले देशका मुख्य सात नदीको १५ स्थानमा बाढीले खतराको तह पार गरेको छ । नारायणी, तिनहु, वाणगंगा, बागमती, कोशी, र कमला नदीको १५ स्थानमा २८१ मिलिमिटरसम्म पानी परेको बाढी पूर्वनुमान महाशाखाले जनाएको छ ।
महाशाखाले २४ घण्टामा १४० मिलिमिटरभन्दा बढी पानी परेमा त्यसलाई खतराको तह मानेर सतर्कता अपनाउन भन्दै सूचना जारी गर्नेगरेको जनाएको छ । मुख्य गरी नवलपुर, कपिलबस्तु, बारा, सिन्धुली, चितवन, धनुषा, स्याङजा, डडेलधुरा क्षेत्रमा अत्याधिक बाढी आएको विभागले जनाएको छ । विभागले २०७ वटा स्टेशनबाट देशैभरका नदीहरुमा बाढीको मापन गर्ने गरेको छ ।
निरन्तरको बर्षाका कारण आकस्मिक बाढीसँगै नदिमा पानीको बहाव बढ्ने हुनाले सावधानी अपनाउन विभागले दैनिक रुपमा सूचना जारी गर्दै आएको जल तथा मौसम विज्ञान विभागका प्रवक्ता विक्रम श्रेष्ठले जानकारी दिनुभयो । कोशी, बागमती, नारायणी, पश्चिम राप्ती, ववई, कर्णाली र महाकाली नदीको ८८ वटा स्थानमा स्टेशन राखी नियमित पानीको सतह हेरेर सचेत गराउँदै आएको छ । शुक्रबार सुदूरपश्चिम क्षेत्र र शनिबार उदयपुर काठमाडौं उपत्यका, सिन्धुली, दाङ क्षेत्रका नदीहरुमा बाढीको सम्भावना बढी भएको समेत विभागले जनाएको छ ।