खुला | पर्यटन |

संरक्षणपछि लाेभलाग्दाे भयाे १३ सय वर्ष पुरानो मन्दिर

जानु पाण्डे
कपिलवस्तु, भदौ १२ गते । बुद्धको गृह नगरी तिलौराकोट दरबार परिसर भित्र रहेको प्राचीन मन्दिरसहित तीन सम्पदाको संरक्षण भएको छ । युनेस्कोको समन्वयका तिलौराकोट अध्ययन, अन्वेषण परियोजनाअन्तर्गत पुरातात्विक सम्पदाको संरक्षण गरिएको थियो । परियोजनाको तेस्रो चरणमा मध्य भागमा रहेको २५ मिटर लामो दक्षिणी सुरक्षा पर्खाल, पर्खालको बिचमा रहेको सुरक्षा टावर समेत संरक्षण गरिएको छ । भग्नावशेष उत्खनन गरी नयाँ इँटा जोडेर जमिनभन्दा एक मिटर उच्च बनाइएको छ ।

उत्खनन्का क्रममा फेला परेको पोस्ट होल (इँटा प्रयोग हुनु अगाडि घर बनाउन प्रयोग गरिएको काठ बाँस गाडिएको प्वाल) समेत संरक्षण गरिएको लुम्बिनी विकास कोषका पुरातत्तव अधिकृत हिमाल उप्रेतीले बताउनुभयो । संरक्षण गरिएको मन्दिरमा सातौं शताव्दीको बुट्टे दार इँटा प्रयोग भएको हुँदा १३ सय वर्ष प्राचीन मन्दिर भएको प्रमाणित भएको उप्रेतीले बताउनुभयो । जीर्ण अवस्थामा रहेको मन्दिरको यस अगाडि संरक्षण भएको थिएन ।

इँटा जोड्नका लागि सुर्खी (पाकेको धुलो इँटा) दुई भाग र चुना एक भाग प्रयोग गरिएको थियो । पुरातात्विक मान्यतानुसार यसरी निर्माण गर्दा रङ्ग लगाउन नपर्ने र लामो सम्म टिकाउ हुने तिलौराकोट साइट प्रमुख माधव प्रसाद आचार्यले बताउनुभयो । राजा शुद्धोदन र रानी मायादेवी निःसन्तान भएपछि यही मन्दिरमा मायादेवीले पूजा गरेको किम्बदन्ती रहेको छ । मन्दिरमा पूजा गरेपछि सिद्धार्थ गौतम बुद्ध जन्मिएको पौराणिक कथनले गर्दा तिलौराकोट अवलोकन गर्न आउने स्थानीय पर्यटक मन्दिर घुम्ने गरेका छन् । मन्दिर जीर्णोद्धार गरी संरक्षण भएपछि राम्रो परेको छ । तिलौराकोट घुम्न आउने पर्यटकका लागि आकर्षण बन्न सक्ने देखिएको कपिलवस्तु नगरपालिका १ का वडा अध्यक्ष सुदिप पौडेलले बताउनुभयो ।