खड्गबहादुर मुख्य योजनाकार, अघिल्लो दिन योजना बनेको थियो
ध्यान कुलुङ
सङ्खुवासभा, असोज ४ गते । गत भदौ २१ गते सोमबार विहान मादी नगरपालिका १ उम्लिङको खोला गाउँमा एकै परिवारको ६ जनाको हत्या भयो । उक्त घटनाको अनुसन्धानको क्रममा पाँच जना पक्राउ परिसकेका छन् ।
पक्राउ पर्नेहरुमा मृत्तक तेजबहादुरको काकाका छोराहरु खड्गबहादुर र रण बहादुरको परिवार पक्राउ परेका छन् । अन्य पक्राउ पर्नेहरुमा खड्गबहादुरका छोरा लालबहादुर, रणबहादुरका दुई छोरा लालबहादुर र नरेश कार्की पक्राउ परेका हुन् । उक्त पाँच कार्की दाजुभाइले सामुहिक हत्या गरेको खुल्न आएको हो । उनीहरुको तुलनामा आर्थिक रुपमा सम्पन्न तेजबहादुरले खड्गबहादुर र रणबहादुरका परिवारलाई हेपेर ब्यावहार गरेको भन्दै उनीहरुले तेजबहादुरको हत्या गर्ने योजना बनाएका थिए ।
तेजबहादुरको परिवारको हत्या गरिएको अघिल्लो बेलुका नै खड्गबहादुर र उनका छोरा लालबहादुर रणबहादुरको घरमा आएर हत्याको योजना बनाएको खुल्न आएको अनुसन्धानको नेतृत्व गर्दैै आउनुभएको संघिय प्रहरी ईकाई धरानका एसपी भिम दाहालले जानकारी दिनुभयो ।भदौ २१ गते विहान धान गोड्ने खेतला माग्न आउने खबर पाएपछि उनीहरुले तेजबहादुरलाई मार्ने योजना बनाएका थिए । तेजबहादुर विहानै रणबहादुरको छोराहरुलाई खेतला माग्न आएर फर्किने क्रममा रणबहादुरका दुई छोरा र खड्गबहादुरका छोरा लालबहादुर गरि तीन जनाले हत्या गरेको खुल्न आएको एसपी दाहालले जानकारी दिनुभयो । घटनास्थलमा तीन छोराहरु मात्र देखिए पनि मुख्य योजनाकारका रुपमा खड्गबहादुर रहेको र रणबहादुरले पनि हत्यामा सहमती जनाएको खुल्न आएको प्रहरी जनाएको छ । रणबहादुर लड्बराएर बोल्ने र अन्यको तुलनामा बौद्धिकता कम भएको प्रहरीले जनाएको छ ।
अनुसन्धानको क्रममा गत असारमा नै तेजबहादुरले रणबहादुरलाई सिध्याउने प्रस्ताव राखेका थिए । त्यसमा पछि मात्र रणबहादुर र उनका छोराहरुले सहमति जनाएको खुल्न आएको छ । तेजबहादुर मात्र उनीहरुको निशानामा रहेपनि अरु परिवारको सदस्यहरुले समेत देखेपछि उनीहरुलाई पनि मारेको खुल्न आएको बताईएको छ । घटना पछि एक जना मात्र दोषी देखाएर अरुलाई उन्मुक्ति दिने योजना अनुसार नै रणबहादुरका जेठा छोरा लोकबहादुरले अपराध स्वीकारेको थियो ।
कार्की परिवारको हत्या आरोपमा साईनोले भतिजो पर्ने छिमेकी लोकबहादुर कार्कीलाई गत भदौ २७ गते आईतबार प्रहरीले पक्राउ गरेको थियो । त्यसको तीन दिनपछि लोकबहादुरको भाइ नरेशलाई समेत प्रहरीले पक्राउ गरेको थियो । नरेशकै बयानको आधारमा उनका काकाको परिवारलाई पनि अनुसन्धानमा तानिएको थियो ।
गत भदौ २१ गते सोमबार विहान बर्ष ५८ को तेजबहादुर कार्की, उहाँकी आमा बर्ष ८४ को पार्वता, श्रीमती ५४ को कमला, बर्ष २८ का बुहारी रञ्जना, बर्ष ११ का नाती दिपेन र बर्ष ५ का नातिनी गोमा कार्कीको हत्या गरिएको थियो । मृत्तक बुहारी रञ्जनाको मोबाईल लोक बहादुरको भाई नरेशको साथमा भेटिएपछि उनी माथि अनुसन्धान सुरु गरिएको थियो ।
घटनाको अनुसन्धानका लागि संघीय इकाई प्रहरी कार्यालय धरानका एसपी भीम दाहाल, प्रदेश १ प्रहरी प्रमुख डिआईजी अरुणकुमार बीसी, केन्द्रीय अनुसन्धान ब्युरो डीएसपी रुगमबहादुर कुँवर, सङ्खुवासभा प्रहरी प्रमुख डिएस्पी लालध्वज सुवेदी नेतृत्वको टोलीले अनुसन्धान गरेको थियो । घटनामा संलग्न लोकबहादुरलाई सार्वजनिक गरिएपछि स्थलगत अनुसन्धानको जिम्मा जिल्लालाई छोडेर फर्किएका थिए । अहिले थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडा सहितको टोली घटना स्थलमै खटिएका छन् ।