खुला |

रोहिंग्या शरणार्थी शिविर बाहिर रहेपछि प्रहरीकाे खोजी तीब्र

गोरखापत्र अनलाइन

काठमाडौँ, असोज ६ गते । बंगलादेशबाट नेपाल ल्याएका रोहिंग्या शरणार्थीहरु शिविर भन्दा बाहिर रहेको पाएपछि प्रहरीले खोजी सुरु गरेको छ । काठमाडौँमा कोठा भाडा लिएर बसिरहेका रोहिंग्या शरणार्थीहरुको खोजी तथा अनुसन्धान सुरु गरेको मानव बेचबिखन अनुसन्धान ब्युरोकी प्रमुख (एसएसपि) दुर्गा सिंहले बताउनुभयो ।

उहाँले भन्नुभयो, “ मानव बेचबिखन अनुसन्धान ब्युरोको विशेष टोलीले शिविर भन्दा बाहिर रहेका रोहिंग्या शरणार्थीहरुको अनुसन्धान गरिरहेको छ ।” भदौको तेस्रो साता दुई वटा रोहिंग्या परिवारका १४ जना अवैध बाटो हुँदै बंगलादेशबाट काठमाडौं आइपुगेको थाहा पाएपछि उनीहरुलाई नेपाल ल्याउने काम गर्ने गिरोहका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दुई जना रोहिंग्या शरणार्थी पनि छन् । एक जना बंगलादेशी नागरिक रहेका छन् । नेपाल आइपुगेपछि यूएनएचसीआरले अमेरिका लगिदिन्छ भन्ने सपना देखाएर गिरोहले बंगलादेशबाट स्थलमार्ग हुँदै भारत भएर नेपाल ल्याउने गरेको व्यूराेले जनाएको छ । व्यूरोका अनुसार हाल कोठा भाडामा लिएर काठमाडौंको चुनिखेलमा १६, बालाजुमा नाै जना रोहिंग्या शरणार्थी बस्दै आएका छन् ।

राम मन्दिर, कपनमा रहेको रोहिंग्या शिविरमा ३८० जना बस्दै आएका छन् । तर शिविर भन्दा बाहिर पनि रोहिंग्या शरणार्थी रहेको बुझिएको प्रहरीले जनाएको छ । पछिल्लो एक महिनामा मात्र करिब ४० जना रोहिंग्या नेपाल भित्रिएको प्रारम्भिक जानकारीमा आएको प्रहरीको भनाइ छ ।