खुला | प्रदेश |

ट्याक्टर र अवैध काठसहित दुई जना पक्राउ

जनार्जन खत्री
सर्लाही, असोज ७ गते । प्रहरीले सर्लाहीको हरिपुर नगरपालिका– १, जानकीनगरबाट वुधवार राती अवैध काठसहित दुई जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मूर्तियाबाट खटिएको प्रहरी गस्ती टोलीले जानकीनगरस्थित भित्री सडकबाट ना १ त ७८०२ नम्वरको ट्याक्टरमा राखेर तस्करी हुँदैगरेको काठ बरामद गरेको हो । विशेष सुराकीका आधारमा सालको ५५ क्युबिक फिट बराबरको ११ थान ठूला गोलिया बरामद भएको प्रहरीले जनाएको छ ।


काठ र ट्याक्टर सँगै ट्याक्टरधनी हरिपुर नगरपालिका– १, जानकीनगरकै ५० वर्षीय जयदेव महतो र सोही ठाउँका ४० वर्षीय लालबहादुर लोप्चनलाई पक्राउ गरेको हो । पक्राउ  परेका व्यक्ति, बरामद भएको काठ र ट्याक्टर आवश्यक कारवाहीका लागि बिहिवार बिहान सबडिभिजन वन कार्यालय जानकीनगरमा बुझाइएको प्रहरीले जनाएको छ ।

सर्लाहीमा जानकीनगर, मूर्तिया र घुर्कौली क्षेत्रमा काठको व्यापक तस्करी हुनेगरेको स्थानीय बताउँछन् । केही दिनअघि वनका कर्मचारीहरुको गस्ती टोलीले हरिवन नगरपालिका– ६, घुर्कौलीस्थित सुकुम्वासी बस्तीको घरैपिच्छेबाट सालका गोलिया तथा चिरान फल्याकहरु बरामद गरेको थियो ।
वन कार्यालयबाट सहज रुपमा काठ नपाउँदा यसरी तस्करी गरेर बेचबिखन गर्नेक्रम बढेको प्रशासनको भनाइ छ । वनमा निवेदन दिएको महिनौँसम्म पनि काठ नपाएको जिल्लावासीले गुनासो गर्दैआएका छन् ।