खुला | प्रदेश |

वर्षाका कारण धान बाली भित्र्याउन किसानलाई समस्या

सिराज खान
नेपालगञ्ज, असोज ९ गते । बाँकेका किसानले धान बालि भित्र्यउन सुरु गरेकैबेला केही दिनयता हरेक दिनजसो परेको पानीले समस्या परेको छ । असारको पहिलो साता लगाएको धान पाक्न थालेपछि किसानहरुले धान बालि काटेर भित्र्याउन शुरु गरेका छन् ।

दिनदिनै बर्षा भैरहेकोले धान खेतमा पानी जमेकाले धान भित्र्यउन किसानलाई सकस भएको हो । धान काटेपछि पानी परेकाले भित्र्याउन मुस्किल परेको खजुरा गाउँपालिका १ बहादुरपुर सैनिकका किसान प्रेमबहादुर रानाले गुनासो गर्नुभयो ।

पानीले गर्दा धान नोक्सानी हुने डरले घरपरिवारका सबै सदस्य लागेर काटेको धानलाई सुरक्षा दिन घरको आँगनमा हतारहतार ओसारेको बताउनुभयो । किसान रानाले बारीमा राख्दा पानीले भिजाउन थालेपछि पाकेको धानलाई घरमै ल्याएको सुनाउनुभयो ।

यस्तै, जानकी गाउँपालिका २ का किसान डम्बर थापाले ६०६ हाईब्रिड जातको धान पाकिसकेको र गोरखनाथ जातको धान पाक्ने अवस्थामा रहेको बताउनुभयो । धान काट्नेबेलामा परेको पानीले निकै समस्या भएको उहाँले बताउनुभयो । एक विघा क्षेफलमा लगाएको धानबाट उत्पादन राम्रै हुने अपेक्षा गरेपनि बर्षाले क्षति पुग्ने डर बढेको बताउनुभयो ।

खजुराका किसान राना र जानकीका किसान थापाजस्तै बाँकेका धेरै किसानहरुले धान बालि भित्र्याउन सुरु गरिसकेका छन । छिटो पाक्ने जातका धान लगाएका किसानहरुले बाली भित्र्याउनेबेला पानी परिरहेकोले भित्र्याउन समस्या भएको चिन्ता व्यक्त गर्नुभयो । जमिनमा पानी जमेको छ, कहिले बेलुका, कहिले विहान र कहिले राती पानी पर्दैगएको छ त्यसैले उत्पादन भएका धान बाली भित्र्याउन किसानलाई समस्या भएको कृषि ज्ञान केन्द्र नेपालगञ्जले जनाएको छ ।

ज्ञान केन्द्र नेपालगञ्जका प्रमुख सागर ढकालले बाँके र बर्दियाका किसानसँगं धान बालि सुकाउने प्रबिधि नभएकाले पनि कतिपयले पानी परे पनि धान खेतबारीमै राख्न बाध्य बनेको बताउनुभयो । उहाँले बाँकेमा यो वर्ष धान उत्पादन गत वर्षभन्दा राम्रो भएपनि बर्षाले केही क्षति पुग्ने बताउनुभयो ।

केही दिनदेखिको पानी र चलेको हावाका कारण कतिपय किसानले लगाएको धान बालीमा भने नोक्सानी गरिदिएको गुनासो किसानले गरेको कृषि ज्ञान केन्द्र नेपालगञ्जले जनाएको छ ।