बागमती सभ्यताका नदीनाला मृत खोलामा परिणत हुँदै
लक्ष्मीप्रसाद उपाध्याय
काठमाडौँ, असोज ११ गते । मानव विकासका लागि महìवपूर्ण भूमिका खेलेको बागमती सभ्यताअन्तर्गतका खोलानाला अत्यधिक प्रदूूषणका कारण विस्तारै ‘मृत खोला’मा परिणत हुन थालेका छन् । विज्ञहरूका अनुसार प्रदूूषण बढ्दै गएपछि स्वच्छ पानीमा बाँच्न सक्ने माछा तथा उभयचर प्रजातिका कुनै पनि प्राणी जीवित हुन नसकेपछि खोलाहरू मृत खोलामा परिणत हुनसक्ने सम्भावना बढेको हो ।
बागमती सभ्यताभित्र बागमती, विष्णुमती, धोबी खोला, इच्छुमती, हनुमन्ते, धुलिखेलको पुण्यमातालगायतका खोला पर्छन् । लामो समय नेपालका नदी खोलानालाको ‘स्वास्थ्य अवस्था’ बारे अध्ययन अनुसन्धान गर्नुभएका त्रिभुवन विश्वविद्यालय वातावरण विज्ञान केन्द्रीय विभागका प्राध्यापक डा. दीपनाराण शाहका अनुसार उपत्यकाका सबै खोलामा प्रदूषणको मात्रा यति बढी रहेको छ कि खोलामा बग्ने लेदोपानीमा अक्सिजनको मात्रा शून्यप्रायः छ । जसले गर्दा माछा र उभय प्रजातिका कुनै पनि जलचर बाँच्न सक्ने अवस्था छैन भने पुतलीकोे लार्भाको अवस्था पानीमा हुने भएकाले यी खोलामा पुतलीकोे लार्भा अवस्थामा बाँच्न सक्ने अवस्था नरहेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “वर्षाका बेला पानीको मात्रा बढी हुने हुँदा यी खोलामा मौसमी माछाहरू देखिए पनि बाँकी समय खोला मृतजस्तै हुने गरेका छन् ।” उहाँले यद्यपि यी खोलामा प्रदूूषण पचाउन सक्ने नगन्य रूपमा स–साना कीरा जीवित हुने गरेको बताउनुभयो ।
हिमनदीको तल्लो तटीय क्षेत्रमा पानीको स्वच्छता र स्वास्थ्य अवस्थाबारे गरिएको अध्ययनले पनि पछिल्ला दिनमा नदी प्रदूषित हुने दर निकै वृद्धि भइरहेको बताइएको छ । लामो समय जलचर तथा सिमसार व्यवस्थापनको क्षेत्रमा काम गर्नुभएका टोपबहादुर खत्रीका अनुसार नेपालका हिमनदीहरू स्वच्छ पानीको नदी भए पनि महाभारत क्षेत्रभन्दा तल बगेपछि फोहोर हुने क्रम निकै बढेको छ ।
उहाँले भन्नुभयो, “गण्डकी नदीको कुरा गर्दा मुग्लिन वरपर रहेका बस्ती तथा होटलबाट सोझै ढल नदीमा मिसिने क्रम दिन प्रतिदिन बढिरहेको छ । अर्काेतिर नदीमा सोझै स्काभेटर हालेर ढुङ्गा, गिट्टी, बालुवा निकाल्ने प्रवृत्तिले नदी धमिलिँदै गर्दा नदीको प्रदूषणको मात्रा डरलाग्दो देखिन्छ । ”
पोखराको सेती नदी होस् वा उदयपुरको त्रियुगा नदी । सबै बस्ती नजिकका खोला, नदीनालाहरू प्रदूषणले आक्रान्त हुँदै गएका छन् । खत्रीले भन्नुभयो, “प्रदूषणले जलचरको बासस्थान मात्र बिग्रने होइन, धार्मिक सभ्यता र पवित्रतालाई पनि धमिल्याउने काम गरेको छ । ”संसारमा स्वच्छ पानीको नदी खोला भनेर नेपालका नदीनाला चिनिने गरेका छन् । डा. शाहले भन्नुभयो, “हिउँ पग्लेर सोझै नदीका रूपमा बग्ने पवित्र गङ्गाका नामले पुकारिने नदीनालामा उद्योगधन्दाको केमिकल फाल्ने, होटल तथा घरको ढल मिसाउने कार्य तत्काल बन्द नगर्ने हो भने नेपालको नदीको पहिचान गुम्न सक्ने चिन्ता भइसकेको छ । ” मानव सभ्यताको आधार नदीनाला दिन प्रतिदिन प्रदूषणको सिकार हुन थाले पनि संयुक्त राष्ट्रसङ्घले हरेक वर्ष सेप्टेम्बर २६ लाई विश्व नदी दिवसका रूपमा मनाउँदै आएको छ । यो अवसरमा नेपालमा पनि नदी प्रदूषणका कुरालाई सभ्यता, धार्मिक आस्था र जलचरको अस्तित्वसँग जोडेर हेरिनुपर्ने र जल स्वच्छता र पवित्रतालाई कायम राख्नुपर्ने खत्रीले बताउनुभयो ।