तनहुँको धार्मिक पर्यटकीय स्थलमा बढ्यो पर्यटकको चहलपहल
अमरराज नहर्की
तनहुँ, असोज ११ गते । तनहुँका धार्मिक पर्यटकीय स्थलहरुमा पर्यटकको चहलपहल बढेको छ । पर्यटक बढेसँगै कोरोनाको कहरले थलिएका पर्यटन व्यवसायीहरुले राहतको महशुस गरेका छन् । कोरोना कहरले वैशाख २१ देखि निरन्तर लकडाउन हुँदा बन्द गरिएका तनहुँका धार्मिक तथा ऐतिहासिक स्थलहरू खुलेका छन् ।
कोरोना भाइरसको दोस्रो भेरियन्ट तीव्र गतिमा फैलिएपछि गरिएको लकडाउन सङ्क्रमण कम भएसँगै खुकुलो बनाएपछि मठमन्दिर खुलेका हुन् । दुई सातादेखि स्वास्थ्य मापदण्ड पालना गरी धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थल खुला गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो । प्रसिद्ध धार्मिक स्थलहरु छाब्दीवाराही, ढोरबाराही, थानीको थान, आँधीमूल, अकलादेवी, तनहुँकालिका, सिद्धगुफा, व्यास गुफा, तनहुँसुर लगायतका धार्मिक, ऐतिहासिक पर्यटकीय स्थलहरु खुलेका छन् । कोरोनाको जोखिम कायमै रहेकाले स्वास्थ्य सुरक्षा मापदण्ड भने अनिवार्य पालना गरी मन्दिरमा पूजाको व्यवस्था गरिएको मन्दिरका पुजारीले जानकारी दिएका छन् ।
यसअघि कोरोना सङ्क्रमणका कारण मन्दिरमा विहान बेलुका नित्यपूजा मात्रै गरिएकोमा हाल स्वास्थ्य मापदण्ड पालना गरी भक्तजनको लागि पनि खुला गरिएको शुक्लागण्डकी नगरपालिका–९ स्थित ढोरबाराही मन्दिरका पुजारी चिरञ्जीवि लम्सालले जानकारी दिनुभयो । करिव दैनिक दुई जना पर्यटक आउने गरेकोमा हाल सोह्रश्राद्धको समयमा भक्तजन कम आउने गरेको पुजारी लम्साले जानकारी दिनुभयो । सोह्रश्राद्धपछि भने दोब्बर करिव चार सय जना भक्तजन आउने अपेक्षा गरिएको उहाँले जानकारी दिनुभयो । व्यास नगरपालिका–१३ स्थित छाब्दीवाराहीमा घुम्न आउने धार्मिक पर्यटकको चहलपहल बढेको छ ।
धार्मिक पर्यटक आउन थालेपछि कोरानाले थलिएका पर्यटन व्यवसायीले राहतको महशुस गरेको होटल व्यवसाय सञ्चालन गर्नु भएकी अप्सरा पन्थले जानकारी दिनुभयो । छाब्दीबाराही विकास कोष समितिका थानबहादुुर थापाले लामो समयसम्म मन्दिर बन्द रहँदा भक्तजनले पूजापाठ गर्न नपाएकाले सङ्क्रमणबाट बच्न स्वास्थ्य मापदण्ड पालना गर्दै मन्दिरमा दर्शनका साथै पूजापाठ गर्ने गरी मन्दिर खुला गरिएको जानकारी दिनुभयो ।