दशैंबाट पर्यटकका लागि काउलेपानी होमस्टे खुला गरिने
बेलिना थापा
लमजुङ, असोज १५ गते । लमजुङको पर्यटकीय गाउँ काउलेपानी होमस्टे दशैंबाट पाहुनाका लागि खुला गरिने भएको छ । कोरोना भाइरस सङ्क्रमण जोखिमले करिब दुई बर्षदेखि बन्द रहेको बेंसीसहर नगरपालिका ३ स्थित काउलेपानी दशैंबाट खुल्ने भएको हो ।
काउलेपानी सामुदायिक होमस्टेका अध्यक्ष देवबहादुर गुरुङका अनुसार कोरोना सङ्क्रमण जोखिम घट्दै गएपछि पर्यटकलाई प्रवेशमा खुला गर्ने तयारी गरिएको छ । हालसम्म गाउँमा पर्यटकलाई प्रवेश गर्न दिइएको छैन । घटस्थापनाका दिनदेखि पर्यटकलाई स्वागत गरिने उहाँले बताउनभुयो ।
होमस्टे आकर्षणको रुपमा रहेको दशैं प्याकेजमा आउने पाहुनालाई स्वागत गर्दै होमस्टे खुला गरिने उहाँले बताउनुभयो । दशैं प्याकेजमा आउनेहरु दुई दिनदेखि तीन दिनसम्म काउलेपानीमा बस्नेगरेको उहाँको भनाई छ । प्राकृतिक मनोरम दृश्यहरुसँग रमाउँदै दशैं मनाउनेहरुका लागि दशैं प्याकेजको व्यवस्था गरिएको होमस्टेका सचिव जगत गुरुङले बताउनुभयो ।
उहाँका अनुसार दशैं प्याकेजमा सरकारी कार्यालयका कर्मचारी, व्यापारीहरु आउने गर्छन् । परिवारको साथमा बिदा मनाउन र दशैं मनाउनका लागि नजिकै पर्ने भएकाले धेरैले काउलेपानी रोज्ने गरेको उहाँको बुझाइ छ । विशेषगरी टीका नलगाउने व्यक्तिहरु दशैंमा काउलेपानी घुम्न आउने गरेको उहाँले बताउनुभयो ।
पाहुनाको स्वागत गर्न आतुर रहेका स्थानीयले गाउँलाई सरसफाई गरी चिटिक्क पार्न थालेका छन् । मुख्य सडक भने बेंसीसहर नगरपालिकाको सहयोगमा डोजरबाट मर्मत भइरहेको छ । गाउँको वरपर स्थानीयले सरसफाइ गरेका छन् । दशैंमा इष्टमित्र आउने बाटो, गोरेटो बाटोमा झाडीहरु फाँड्ने काम भइरहेको छ ।
दशैं प्याकेजपछि सामुदायिक प्याकेज पनि खुला गरिने स्थानीयले बताएका छन् । पर्यटकले असोज २१ गतेबाट काउलेपानी पुगेर घुम्न र रमाउन पाउनेछन् । यसवर्ष गाउँशहर कालिका मन्दिरमा पूजापाठ पनि खुला गरिने भएकाले त्यहाँ आउने पर्यटकलाई दृष्टिगत गरेर गाउँ खुला गर्ने भएको स्थानीयको भनाइ छ ।
समुद्री सतहदेखि १ हजार ६ सय ५० मिटरको उचाइमा रहेको काउलेपानीमा बाहुन, क्षेत्री, गुरुङ, नेवार र भुजेलका २५ घर छन् । १४ घरमा होमस्टे सञ्चालन गरिएको छ । पर्यटकलाई अर्गानिक खानामा कोदोको ढिंडो, रोटी, भट्मास, गुन्द्रुक, लोकल कुखुराको मासु, लोकल मदिरा खुवाउने चलन छ । स्थानीयका अनुसार काउलेपानीको शिर (१९५० मि.) मा शाहवंशीय राज्यकालका भग्नावशेष छन् ।
वि. सं. १५५० असार १५ गते यशोब्रम्ह शाहले उक्त ठाउँमा राजगद्दी बसालेको इतिहासमा उल्लेख छ । काउलेपानीबाट मनास्लु, डा. हर्क हिमाल, लमजुङ हिमाल, अन्नपूर्ण, माछापुच्छे लगायत १४ वटा हिमश्रृङ्खला देख्न सकिने स्थानीय बताउँछन् । ओछ्यानबाटै देखिने सूर्योदय, यहाँको जीवनशैली, स्थानी कला, संस्कार र संस्कृतिले पर्यटकलाई लोभ्याउने गरेको छ । गाउँबाट नागबेली आकारको मर्स्याङ्दी नदी, विभिन्न प्रकारका जडीबुटी, लोपाेन्मुख वन्यजन्तु देख्न सकिने स्थानीय बताउँछन् ।