खुला | प्रदेश |

तनहुँमा ८१ प्रतिशत निजी आवास पुनःनिर्माण पूरा


अमरराज नहर्की
तनहुँ, असोज १५ गते । तनहुँमा भूकम्पबाट क्षति पुगेको निजी आवासमध्ये हालसम्म ८१ दशमलव ३० प्रतिशत पुनःनिर्माण भएको छ । जिल्ला आयोजना कार्यान्वयन इकाईको अभिलेख अनुसार उक्त प्रतिशतमा निर्माण पुरा भएको हो । जिल्लाका १५ हजार ९८८ लाभग्राही मध्ये ११ हजार ४९५ आवासको निर्माण पूरा भएको इकाईका कार्यालय प्रमुख जयप्रकाश गुप्ताले जानकारी दिनुभयो ।
लाभग्राही मध्ये १४ हजार ९४३ जनाले पहिलो किस्ताबापतको ५० हजार रुपियाँ बुझेका छन् । पूर्ण क्षति हुने १४ हजार १३९ र आंशिक क्षति भएकाहरू ८०४ जनाले पहिलो किस्ता प्राप्त गरेको इकाईको कम्प्युटर अपरेटर गुप्ताले बताउनुभयो । जिल्लामा पूर्ण तथा प्रबलीकरण तर्फका लाभग्राहीहरूमा व्यास नगरपालिकाका एक हजार ६३७, भानु नगरपालिकाका तीन हजार ७४६, बन्दिपुर गाउँपालिकाका ८७६, आबुँखैरेनी गाउँपालिकाका ६९१, देवघाट गाउँपालिकाका ५३५, घिरिङ गाउँपालिकाका २४७, ऋषिङ्ग गाउँपालिकाका ४४४, शुक्लागण्डकी नगरपालिकाका १३ सय ९१, भिमाद नगरपालिकाका ८८० र म्याग्दे गाउँपालिकाका एक हजार ४८ ले तेस्रो किस्ता बुझेको इकाईको अभिलेखमा उल्लेख गरिएको छ ।
जिल्लाका २२० लाभग्राहीले बुझेको रकम फिर्ता गरेको कम्प्युटर अपरेटर सुजन तिवारीले जानकारी दिनुभयो । फिर्ता गर्ने लाभग्राही मध्ये पुरै किस्ता लैजाने दुई जनाले जनही तीन लाख गरी ६ लाख फिर्ता गरेका छन् । त्यसैगरी, २१८ जनाले जनही ५० हजारको दरले फिर्ता गरेका छन्