उषाको हिम्मत, न पढाइले छेक्यो न समाजले, बनिन् सहचालक
विष्णु पाण्डे, दृश्यमा मनाेजरत्न शाही/केशब गुरूङ्
काठमाडौं असोज १८ गते । स्वदेशमा रोजगारी नपाएपछि विदेश जाने युवाको सङ्ख्या दिनहुँ बढ्दै छ । स्वदेशमै काम पाइए पनि सानोतिनो काम र त्यसबाट चित्तबुझ्दो पारिश्रमिक पाउन मुस्किल । सीप अनुसारको कामबाट मनग्य आम्दानी हुन नसक्ने जस्ता अनेकौं कारणले युवा रोजगारीका लागि विदेशिने क्रम दिनहुँ बढ्दो छ । तर, स्वदेशमै उल्लेख्य आम्दानी नभएपनि थोरै आम्दानीमै सन्तुष्टि खोज्ने युवा पनि यही रहेका छन् । यसको उदाहरण हो, काभ्रे पनौतीकी उषा सापकोटा ।
काभ्रे पनौतीमा जन्मनुभएको सापकोट साझा यातायातको सहचालिकाको रुपमा कार्यरत हुनुहुन्छ । नेपाली समाजमा बसमा सहचाल (खलासी) को कामलाई त्यति धेरै सम्मान छैन । सामान्य साक्षर व्यक्तिले राेजने र अलिक दुःखी पेशा मानिन्छ गाडीमा सहचालक बन्नु । तर उमेर भरखर दुई दशक पार गर्नुभएकी सापकोटाले भने कक्षा १२ सम्मको अब्बल पढाइ हुँदा हुँदै यो चुनौतिपूर्ण र धेरैले झटपट आँट नगर्ने सहचालकको कामलाई सम्मानपूर्वक स्वीकार्नु भएको छ ।
२०७२ सालको भूकम्पले घर भत्काएपछि परिवारसँगै काठमाडौं आउनुभएको थियो । सापकोटाले सहचालिको रुपमा काम थाल्नुभएको तीन वर्ष पूरा भइसकेको छ । उहाँका बुबा रोजगारीको सिलसिलामा भारतमा हुनुहुन्छ भने आमा काठमाडौंमै हुनुहुन्छ ।
साझा बसमै आफ्नो भविष्य खोजिरहनुभएको सापकोटाले कुनै काम ठूलो वा सानो हुँदैन भन्नुहुन्छ ।
‘बसमा आएर काम गरिरहँदा धेरै मानिससँग चिनजान हुन्छ । काम मात्र होइन, काम गर्ने ठाउँ, वरपरको वातावरण, सहकर्मीको बोलीचाली पनि राम्रो हुनुपर्ने रहेछ,’ आफ्नो अनुभव सुनाउँदै भन्नुहुन्छ, ‘अब त यसै पेशामा रमाउन थालेकी छु । टायर, स्टेयरिङ, गियरमा भविष्य देख्न थालेकी छु ।’
सहचालकको रुपमा काम गर्दा शुरुमा घरबाट राम्रो सहयोग नभए पनि अहिले भने सबैले सहयोग गर्ने गर्नुभएको उहाँ बताउनुहुन्छ । तर, अन्य आफन्तहरुलाई भने अझै बुझाउन नसकिएको सापकोता बताउनुहुन्छ ।