खुला | प्रदेश |

समृद्धिको प्रमुख बाधक भ्रष्टाचारः नेता बस्नेत

जिवछ यादव
लहान, असोज २० गते । नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले समृद्धिको प्रमुख बाधक भ्रष्टाचार भएको बताउनुभएको छ । नेकपा (एमाले) धनगडीमाई नगरपालिकाले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा बुधबार सो कुरा बताउनुभयो । छिटो विकास हुन नसक्नुको कारण भ्रष्टाचार रहेकोले यसको अन्त्य गर्न एमालले प्रदेशमा भ्रष्टाचार विरोधी अभियान चलाउनुपर्नेमा जोड दिनुभयो । 

भ्रष्टाचारको पृष्टपोषण गर्ने गतिविधिलाई रोक्न नेकपा (एमाले) आवद्ध राष्ट्रिय युवा संघ नेपाल भ्रष्टाचार विरोधमा लाग्न उहाँले आग्रह गर्नुभयो । नेता बस्नेतले थप्नुभयो, ‘प्रदेश –२ का जनतालाई गुमराहमा राख्ने कामले मधेशवादी दलको जनाधार कमजोर हुँदैगएको छ । आउने चुनावमा एमाले प्रदेशको ठूलो पार्टी बन्छ ।’

यसअघिको केपी ओली नेतृत्वको विकास आयोजनाको बजेट कटौती गरेर वर्तमान सरकार विकास विरोधी काम गरेको उहाँले आरोप लगाउनुभयो । सरकारले १४ सय सडक निर्माणको बजेट कटौती गरेको थियो । राष्ट्रिय युवा संघ नेपाल लहानको प्रथम नगर अधिवेशनलाई सम्बोधन गर्न मङगलबार लहान आइपुग्नु भएको नेता वस्नेत बुधबार धनगडीमाई नगरपालिका अगुवा कार्यकर्तालाई भेटघाट गर्नुभयो ।