स्रोत नखुलेको दश लाख बढी रकमसहित दुईजना प्रहरी नियन्त्रणमा
नगेन्द्रकुमार कर्ण
जलेश्वर, असोज २३ गते । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरबाट स्रोत नखुलेको १० लाख रुपियाँभन्दा बढीको रकमसहित प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।
मोटरसाईकलको विभिन्न ठाउँमा राखेको रकमसहित जिल्लाको मनरासिश्वा नगरपालिका ५ बस्ने ३४ वर्षिय दिपेन्द्रकुमार साह र सँगैरहेका भंगहा नगरपालिका ७ बस्ने १८ वर्षिया विन्दाकुमारी साहलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
नम्बर नलेखिएको ग्ल्यामर मोटरसाइकलमा सवार भई जलेश्वर नगरपालिका ८ को बजराही हुदै जनकपुरतर्फ गैरहेको उनीहरुलाई प्रदेश प्रहरी कार्यालय जनकपुर, जिल्ला प्रहरी कार्यालय महोत्तरी र नगरपालिकाको अस्थाई पोष्टबाट खटेका संयुृक्त टोलीले चेकजाँचको क्रममा नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायव उपरिक्षक प्रकाश विष्टले पिठ्युमा बोकेको झोलामा एक हजार दरका पाँच सय थान, मोटरसाइकलको सिटमुनी एक हजार दरका दुईसय थान नोट राखेको अवस्थामा प्रहरीले फेला पारेको थियो ।
त्यस्तै, मोटरसाइकलको बाँयाँ भागको एयर फिल्टरको पल्लाभित्र लुकाई राखिएको एक हजार दरका तीनसय थान तथा खल्तीमा राखिएको चार हजार चारसय गरी दश लाख चार हजार चार सय रुपियाँसहित नियन्त्रणमा लिइएको जानकारी दिनुभयो । रकमको स्रोत खोल्न नसकेपछि उनीहरुलाई नियन्त्रणमा लिइएको विष्टले बताउनुभयो । उनीहरुलाई आवश्यक अनुसन्धानका लागि जलेश्वर भन्सार कार्यालयमा पठाइएको बताउनुभयो ।