जग्गाको लालपूर्जा पाएपछि स्थानीय दङ्ग
जनार्जन खत्री
सर्लाही, असोज २४ गते । सर्लाहीको बरहथवा नगरपालिका– ९, मूर्तियामा गाउँ ब्लकमा पर्ने जग्गाको जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) पाएपछि गाउँबासी दङ्ग भएका छन् । नापी कार्यालय मलङ्गवाले मूर्तियास्थित वडा कार्यालयसँग समन्वय गरी गाउँ ब्लक जग्गामा संयुक्त रुपमा बसोबास गर्दै आइरहेकाहरुलाई ५९ थान लालपुर्जा प्रदान गरेको हो ।
लामो समयदेखि बसोबास र भोगचलन गर्दैआएको जग्गाको लालपुर्जा पाएपछि जग्गाको मालिक भएको भन्दै स्थानीयहरु दङ्ग परेका हुन् । वर्षौसम्म भूमिहिन भएर बसोवास गरिरहेको अवस्थामा सरकारले अहिले लालपुर्जा बाँड्दा अत्यन्तै खुसी लागेको स्थानीय तारा रमौलीले बताउनुभयो । अब दुःख पर्दा बैङ्कमा जग्गा धितो राखेर भएपनि ऋण लिन सहज भएको भन्दै उहाँले खुसी व्यक्त गर्नुभयो ।
बरहथवा नगरपालिकाका प्रमुख देवानन्द महतो, उपप्रमुख सीतादेवी माझी, वडा नं. ९ का वडाध्यक्ष तुलसी लुईटेल, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर भुजेल, नापी कार्यालय मलङ्गवाका नापी अधिकृत सविन विक लगायतले स्थानीयवासीलाई लालपुर्जा वितरण गर्नुभयो ।
नापी अधिकृत विककाअनुसार साबिक गङ्गापुर सीतापुर वडा नं. ४ (क) को कित्ता नं. १३ मा पर्ने दुई बिघा १८ कठ्ठा ११ धुर जग्गाको लालपुर्जा वितरण गरिएको छ । जिल्ला प्रशासन र नापी कार्यालयमा निरन्तर ताकेता गरेर स्थानीयलाई लालपुर्जा वितरण गरेको बरहथवा नगरपालिका कार्यालयले जनाएको छ ।