खुला | प्रदेश |

बागमती प्रदेशको मुख्यमन्त्रीमा काँग्रेसको दावी

राममणि दाहाल
हेटौँडा, असोज २४ गते । नेपाली काँग्रेसले बागमती प्रदेशको मुख्यमन्त्रीमा दावी गरेको छ । काँग्रेस बागमती प्रदेश संसदीय दलको आजको बैठकले मुख्यमन्त्रीमा काँग्रेसले दावी गर्ने निर्णय गरेको हो । हेटौँडामा बसेको संसदीय दलको बैठकले मुख्यमन्त्रीमा काँग्रेसले दावी गर्ने निर्णय गरेका काँग्रेस संसदीय दलका सचेतक छिरिङदोर्जे लामाले जानकारी दिनुभयो ।

उता काँग्रेससहित केन्द्रमा गठबन्धन गरेको दल नेकपा (एकीकृत समाजवादी) ले बागमती प्रदेश र प्रदेश १ मा मुख्यमन्त्रीको दावी गर्दैआएको छ । नेकपा (एस) ले संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई गठबन्धनका दलहरुसँग छलफल गर्न जिम्मेवारी दिएको छ ।

नेकपा (एमाले) विभाजित भएसँगै अल्पमतमा परेपछि मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिन प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गराइसक्नु भएको छ ।

मुख्यमन्त्रीको दल विभाजित भएमा वा समर्थन गरेको दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । मुख्यमन्त्री शाक्यले प्रदेश सभाबाट विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभाको नवौँ बैठक आइतबार दिउँसो ३ बजेका लागि बोलाउनुभएको छ ।

बैठकले गठबन्धन दलहरुसँग वार्ता गर्न संसदीय दलका नेता इन्द्रबहादुर बानियाँलाई जिम्मेवारी दिएको सचेतक लामाले बताउनुभयो । प्रदेश सभाबाट विश्वासको मतको प्रस्तावमाथि छलफल र मतदानको मिति प्रदेश सभाको कार्य व्यवस्था परामर्श समितिको बैठकले टुङ्गो लगाउने भएको छ ।