सडक सौन्दर्यका लागि विरुवाको संरक्षण गरिदैं
विजयकुमार साह
ढल्केवर, असोज २५ गते । धनुषाको ढल्केवर–जनकपुर ६ लेन सडक किनारमा पर्यावरण रक्षासँगै सडकको सौन्दर्य कायम राख्न सडक किनारमा विरुवा रोप्ने र हुर्काउने काममा ध्यान दिइएको छ । डिभिजन वन कार्यालय धनुषाले बिरुवा हुर्काउने काम गर्दैआएको छ ।
डिभिजन वन कार्यालयले पटक–पटक गरेर सो सडक खण्डको सपहीदेखि महेन्द्रनगरसम्मको नौ किलो मीटरमा १६ सय विभिन्न प्रजातिका बिरुवा रोपेर हुर्काउने काम गर्दैआएको छ । रोपिएका बिरुवा वन कार्यालयले स्थानीय साधन स्रोतलाई प्राथमिकता दिई वातावरणमैत्री बाँसबाट बनाइएको खोप (ट्रि गार्ड) को प्रयोग गरेर हेरालु मार्फत विरुवा हुर्काउने काममा ध्यान दिएको बताएको छ ।
डिभिजन वन कार्यालय धनुषाका वन अधिकृत सुनिलकुमार कर्णले रोपिएका बिरुवा हुर्काउने काम पनि महत्वपूर्ण भएको बताउनुभयो । वन कर्मचारी नागेन्द्र यादवलाई हेरचाहको जिम्मा दिइएको जानकारी दिनुभयो । रोपिएका बिरुवाको संरक्षण भएन भने चौपायाले खाइदिने, पानी र गोडमेल नहुँदा सुकेर खेर जाने हुनाले बिरुवा हुर्काउने कामलाई बिशेष ध्यान दिइएको कर्णले बताउनुभयो ।
अधिकृत कर्णले अहिले नौ किलो मिटरमा बिरुवा रोपण तथा संरक्षणको काम भइरहेको भएपनि यो कार्यलाई निरन्तरता दिँदैे ढल्केवर–जटहीसम्म झण्डै ३८ किलो मिटरको ६ लेन सडकको दुबै किनार तथा बीचभाग (डिभाइडर) मा वृक्षरोपण गरी हुर्काउने लक्ष्य रहेकोे बताउनुभयो ।
सडकको सौन्दर्य बढाउने जातको रामबृक्ष, कतकी, कपुर, पारिजात, गोल्ड मोहर, पेल्टो फर्म लगायतका बिरुवा रोपिएको वन कार्यालयले जनाएको छ । बिरुवा हुर्किएपछि पर्यावरण सुधारमा मद्दत पुग्नुकासाथै प्रदुषण घटने, ध्वनी प्रदुषण कम हुने, यात्रुलाई शितलता प्रदान हुने र सडकको सौन्दर्य बढने अधिकृत कर्णले बताउनुभयो ।
यसकासाथै रुख विरुवाले कालोपत्रे सडक लामो समयसम्म टिकिरहन समेत सहयोग गर्छ, अधिकृत कर्णले भन्नुभयो । सूर्यको ताप रुखले छेल्ने हुँदा सडकको तापमान बढ्न दिँदैन र सडक लामो समयसम्म टिकिरहने उहाँले बताउनुभयो ।