जब गुञ्जन्छ मालश्री राग तब छाउँछ दुर्गाको दिव्यता
सपना थामी, दृश्यमा मनोजरत्न शाही केशब गुरुङ
काठमाडाै, असाेज २५ गते । विजया दशमीको समयमा बजाइने मालश्री धुनलाई सामान्यतः शास्त्रीय संगीतको एउटा रागको रुपमा बुझ्नुपर्ने संगीतका अध्येताहरु बताउँछन् । दशैंमा बजाइने यो मालश्री धुनको नेपाली समाजमा धार्मिक तथा सांस्कृतिक महत्व त छ नै, अन्तर्राष्ट्रिय स्तरमा पनि यो धुन उत्तिकै कर्णप्रिय अर्थात् यसको विशेष पहिचान बनिसकेको छ ।
वर्षौदेखि मालश्री धुन बजाउँदै र गाउँदै पनि आउनुभएको तबला वादक दिपेन्द्र बज्राचार्य मालश्री जति बजाएपनि प्रिय लाग्ने गरेको बताउनुहुन्छ । ‘वर्षौंदेखि मालश्री बजाएको र गाएको छु, सिकाएको छु तर, जति बजाएपनि पुग्दैन । मालश्रीमा नवदुर्गा देवीको आराधना भएकोले पनि होला, यसको स्तुति निरन्तर गर्दा मलाई त यो धुनमा दिव्यता छाइसक्यो जस्तो लाग्छ ।’, बज्राचार्यको अनुभव छ ।
यस्तै, मालश्री धुनका अर्का सितार वादक सीतामैंया राजचल पनि सितारमार्फत दुर्गा देवीको स्तुति गर्न कहिल्यै थाक्नुभएको छैन । ‘सितार बिनाको सीतामैंया कल्पना गर्न सक्दिनँ ।’, सीता बताउनुहुन्छ । प्रायजसो सितार बसेर बजाइन्छ तर, उहाँ उभिएर सितार बजाउने विश्वमै पहिलो महिलाको रुपमा रेकर्ड राखिसक्नुभएको छ ।