लमजुङ प्रहरीको चाडपर्वलक्षित विशेष सुरक्षा योजना
बेलिना थापा
लमजुङ, असोज २६ गते । लमजुङ प्रहरीले चाडपर्व लक्षित विशेष सुरक्षा योजना २०७८ तयार पारेको छ ।दशैँ, तिहार, छठ पर्वलाई मध्यनजर गर्दै सुरक्षा योजना बनाएको प्रहरीले जनाएको छ । नेपाली हिन्दुकाे महान चाड बडा दशैँ, तिहार तथा छठ पर्वमा हुन सक्ने चोरी डकैती, लुटपाटजस्ता अापराधिक घटना तथा सवारी दुर्घटना समेतलाई मध्यनजर राखी योजना बनाएको हो ।
चाडपर्वमा हुने अपराधिक घटनालाई निरुत्साहित एवं नियन्त्रण र रोकथाम गर्न सुरक्षा योजना बनाएको प्रहरी नायव उपरीक्षक कृष्णबहादुर कार्कीले बताउनुभयो । उहाँका अनुसार कोभिड १९ को यस महामारीको अवस्थामा विशेष स्वास्थ्य तथा सुरक्षा सतर्कता अपनाउनुपर्ने भन्दै दशैँ, तिहार र छठ पर्वजस्ता पर्वमा विशेष योजना बनाइएको हो । अन्य समयभन्दा बढी जमघट, भेटघाट शुभकामना आदानप्रदान हुने, बजार क्षेत्रमा सर सामग्री किन्न हिँड्नेको भिड, मठ मन्दिर तथा बाटो घाटोमा भिडभाड हुने भएकाले प्रहरी परिचालन गरिएको छ । प्रहरी नायव उपरीक्षक कार्कीको कमाण्डमा ४०० जना प्रहरी परिचालन भएको छ । २४ सैं घण्टा प्रहरी परिचालन, मापसे जाँच, गस्ती थालिएको प्रनाउ कार्कीले बताउनुभयो ।
सुरक्षा योजना जिल्ला प्रशासन कार्यालयमा बसेको सुरक्षा समितिको बैठकले पारित गरेको र जिल्ला प्रहरी कार्यालय मातहतका प्रहरी इकाईहरुमा पठाएर कार्यन्वयन गर्न भनिएको प्रहरीले जनाएको छ । बजार, बाटोघाटो, मठ मन्दिर, सार्वजनिक स्थानमा मानिसहरुको सुरक्षा व्यवस्था उचित तरिकाले मिलाउने र अपराधको मनसाय बोकेका व्यक्तिहरु सक्रिय हुन सक्ने भएकाले प्रहरीले विशेष चासोका साथ लागेको प्रहरीले जनाएको छ । चाडपर्वको समयमा कोभिड संक्रमण जोखिम हुन सक्ने भएकाले प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ । यस्तै, पिकेट, पैदल गस्ती (विहान र बेलुका) मोटरसाइकल र मोबाइल गस्ती गरिनेछ । प्रहरीको आआफ्नो जिम्मेवारी इलाकामा अपराधिक गतिविधि हुन नदिने र भएमा कानुनी दायरामा ल्याउने भएको छ ।
चाडपर्वको समयमा अपराधिक क्रियाकलापको सम्भावना हुने, मदिरा सेवन र खेलकुदमा हारजित हुँदा मनमुटाव भई घटना घट्न सक्ने भएकाले प्रहरीले उच्च सावधानी अपनाएको छ । यस्तै, पैदल गस्ती, मोबाइल गस्ती, मोटरसाइकल गस्ती समेत गरिने छ । सकेसम्म घटना घट्न नदिने र घटिहालेमा तुरुन्त प्रहरी परिचालन गरिने प्रहरीले जनाएको छ ।