खुला | प्रदेश |

महाकालीकाे बाढीमा पाँचजना फसे, उद्धारका लागि हेलिकप्टर आउँदै

लक्ष्मणदत्त पन्त
महेन्द्रनगर, कात्तिक २ गते । सोमबार रातिबाट बाढीमा फसेकाहरुको उद्धारका लागि हेलिकप्टर आउनेभएको छ ।महाकाली नदीको बीच बाढीमा फसेकालाई हेलिकप्टरबाट उद्धार गरिने सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले बताउनुभयो ।
‘सुर्खेतबाट हेलिकप्टर उडिसकेको छ, केही छिणमै यहाँ आइपुग्छ ।’ कञ्चनपुरको बाढी प्रभावित क्षेत्रमा पुग्नुभएकी मन्त्री जोशीले भन्नुभयो, ‘महाकालीमा मानिस फसेका छन् । पहाडी भेगबाट पनि त्यस्तो खबर आएको छ । हामी उद्धार गर्छौ ।’
भीमदत्त नगरपालिका–९ मसेट्टीका ३५ वर्षीय पुष्कर नायक, ४५ वर्षीया दीर्घमती खड्का, ३२ वर्षीया शान्ती नायक, नौ वर्षीय अशोक नायक र पाँच वर्षीय अजय नायक सोमबार रातिदेखि बाढीमा फसेका छन् । भारतबाट नेपाल फर्कने क्रममा नदीकाे बीचमा फसेका उनीहरू नदीकाे बीचमा ढुङ्गामा बसेका छन् ।