बाढीले सिन्धुलीमा एकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध
बाबुराम देवकोटा
सिन्धुलीमाढी, कात्तिक ३ गते । सिन्धुली जिल्लामा दुई दिनदेखिको अविरल वर्षाका कारण एक जनाको ज्यान गएको छ भने ठाउँ–ठाउँमा पहिरो खसेर मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ ।
फिक्कल गाँउपालिका–४ निवासी २२ वर्षीया सबिता भुजेलको मामाघरमा टीका लगाएर घर फर्किने क्रममा मङ्गलबार बेलुका स्थानीय चाल्नेखोलामा आएको बाढीले बगाएर ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका अनुसार फिक्कल गाँउपालिका–५ जाङजाङमा रहेको मामाघरमा टीका लगाएर घर फर्किदै गर्दा उक्त खोलामा एक्कासि बाढी आउँदा बगाएर उहाँको मृत्यु भएको हो । मृतकको शव घट्नास्थलभन्दा करिब एक किलोमिटर तल भेटिएको थियो ।
त्यस्तै मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी ६१ किलोमिटर लामो खण्डमा ठाउँ–ठाउँमा पहिरो खस्नाले यातायात अवरुद्ध हुदा दशैंमा टीका लगाएर फर्किएका यात्रु बीच बाटोमा नै अलपत्र परेका छन् । खुर्कोट–घुर्मी खण्डमा गोलन्जोर गाउँपालिकाको हैबार अक्करे भीर, कुखुरेटार, कालिआँप र फिक्कल गाउँपालिकाको सोखुखोला र नागथानमा माथिबाट पहिरो आई सडकमा थुप्रिएर यातायात अवरुद्ध बनेको इलाका प्रहरी कार्यालय खुर्कोटले जनाएको छ ।
उक्त कार्यालयका प्रहरी निरीक्षक अनिलराज गिरीका अनुसार खुर्कोटबाट पाँच किलोमिटर पूर्वतर्फ सुनकोशी नदी किनारको हैबार अक्करे भीरमा पाँच सय मिटरभन्दा बढी क्षेत्रफलमा रहेको यो भीरको तीन ठाउँमा पहिरो खसेको छ । सिमसिम पानी परिरहेकाले पहिरो पन्छाउने डोजर पुग्न सकेको छैन । पहिरोका कारण पूर्वी पहाडी जिल्लाबाट आएका सात सयभन्दा बढी यात्रुवाहक सवारी रोकिएका छन् ।
‘कालिआँप पहिरो पन्छाएर अहिले कुखुरेटारको पहिरो पन्छाउन मेसिन जाँदै छ’ उहाँले भन्नुभयो, ‘उक्त पहिरो पन्छाएपछि हैबार अक्करेभीरको पहिरो पन्छाउन मेसिन लैजाने योजना छ ।’ मध्यपहाडी लोकमार्ग सडक आयोजनाको कन्ट्याक्टर मार्फत पहिरो पन्छाउने काम भइरहेको उहाँले सुनाउनुभयो ।
मध्यपहाडी लोकमार्गमा यातायात अवरुद्ध हुँदा पूर्वी पहाडी जिल्ला खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु, भोजपुर, रामेछापबाट राजधानी काठमाडौं आवतजावत गर्ने यातायातका साधनहरु बीच बाटोमा नै अलपत्र परेका स्थानीयले बताएका छन् ।
तीन ठूला बीपी राजमार्ग, मदन भण्डारी लोकमार्ग र मध्यपहाडी लोकमार्गले छोएको सिन्धुली जिल्लामा अन्य दुई ठूला राजमार्गमा भने यातायात सेवा सुचारु रहेको प्रहरीले जनाएको छ ।