बझाङमा र बैतडीमा उद्धारका लागि सेनाको हेलिकोप्टर जाँदै, मौसममा सुधार
प्रकाशविक्रम शाह
धनगढी, कात्तिक ३ गते । बझाङको थलारा गाउँपालिका–४ दिख्ला गाउँमा मङ्गलबार बिहान ४ बजे पहिरो जाँदा एकै परिवारका १८ सहित २३ जना बेपत्ता भएको विषयमा यथार्थ पत्ता लगाउन नेपाली सेनाको हेलिकोप्टर परिचालन हुने भएको छ ।
यस्तै गरेर बैतडीको सिगास गाउँपालिका– ५ ढुंगाडस्थित सेती नदी किनारमा रहेका १० घरका ६० जना पनि उद्धारको पर्खाइमा रहेको वडाअध्यक्ष रामबहादुर धामीले बताउनुभएको छ । सो क्षेत्रमा समेत हेलिकोप्टर जाने सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री एवम् प्रवक्ता पूर्णा जोशीले बताउनुभयो ।
आइतबार, सोमबार र मङ्गलबारका तुलनामा बुधबार बिहानैदेखि आकाश खुलेकोले उद्धार कार्य गर्न सहज हुने अनुमान गरिएको छ । मङ्गलबार रातिपछि पानी पनि परेको छैन ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक तथा प्रवक्ता विक्रमबहादुर चन्दका अनुसार पहिरो गएर गाउँबासी बेपत्ता भएको अपुष्ट खवर आएपछि तीनतिरबाट प्रहरी परिचालन गरिएको छ ।