विराटनगर विमानस्थल दिउँसो १ बजेसम्मका लागि बन्द
काठमाडौं, कात्तिक ३ गते । वर्षादका कारण जलमग्न भएपछि विराटनगर विमानस्थल दिउँसो १ बजेसम्मका लागि बन्द गरेको छ । त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाका अनुसार विराटनगरले दिउँसो १ बजेसम्म सफाइ गर्न समय लाग्ने भएकाले बन्द गर्ने जानकारी दिएको बताउनुभयो ।
जलमग्न धावनमार्गलाई दिउँसोसम्म सफाइ गरेर सकिने र त्यसपछि उडानका लागि अनुमति दिने तयारीमा विराटनगर विमानस्थल रहेको शेर्पाले जानकारी दिनुभयो । यता यती एयर र बुद्ध एयरलाइन्सले भने काठमाडौं–विराटनगरका सबै उडान रद्द गरेका सूचना जारी गरेको छ । तर विमानस्थलले सफाइ सकेपछि उडानका लागि अनुमति दिने भए पनि एयरलाइन्सहरुले भने बुधबार उडान गर्ने नगर्ने भन्नेमा यकिन नगरेको विमानस्थलले जनाएको छ ।
केसलिया खोलामा आएको बाढी विमानस्थलमा पसेपछि धावनमार्ग, पार्किङ क्षेत्र लगायत विमानस्थलका अधिकांश क्षेत्र डुबानमा परेका छन् ।