कैलालीमा धान क्षतिकाे तथ्याङ्क लिने क्रम शुरु
चाँदनी आचार्य
लम्की (कैलाली) कात्तिक ३ गते । चार दिनसम्म नियमित परेको पानीले धानखेतीमा पुर्याएको क्षतिबारे घोडाघोडी नगरपालिकाले तथ्याङ्क लिन शुरु गरेको छ । बुधवार नगरस्तरीय विपद् व्यवस्थापन समितिको बैठक बसी नगरका १२ वडाको अवस्थाबारेमा वडाअध्यक्षहरुबाट क्षतिबारे जानकारी लिएको हो । बैठकमा वडाका वडा अध्यक्षतले करिब ८० प्रतिशत धानमा क्षती पुगेको बताएका छन् ।
केही वडामा भौतिक क्षति भएको जानकारी गराइएको छ । वडा नम्बर ४, ९, ५, ३ मा कल्भर्ट, कटान, र पुलमा बाढीले केहि क्षती गरेको छ । सर्वदलीय, सर्वपक्षीय सहभागितामा भएको बैठकमा धान खेतीको वास्तविक तथ्याङ्क यथाशीघ्र लिनुपर्ने र राहतको व्यवस्थान गर्नुपर्ने सुझाव आएको छ ।
नेकपा (माओवादी केन्द्र) का नेता खग्रेन्द्र हमालले वास्तविक पीडित किसानको खेतमै गएर तथ्याङ्क लिनुपर्ने सुझाव दिनुभयो । हमालले वास्तविक तथ्याङ्कका आधारमा यथाशीघ्र राहत व्यवस्था गर्नुपर्ने बताउनुभयो ।
त्यस्तै, नेपाली काँग्रेसका नेता नरहरि रिजालले धेरै किसानको धान बालीमा क्षती पुगेको बताउँदै निष्पक्ष र वास्तविक तथ्याङ्क संकलन गरी पीडित किसानलाई राहत तथा गहुँ खेतीका लागि मल बीउ समयमै अनुदानको व्यवस्था गर्नुपर्ने सुझाव दिनुभयो । बैठकले १२ वडामा वडाअध्यक्षको संयोजकत्वमा तथ्याङ्क सङ्कलन समिति गठन गर्ने निर्णय पनि गरेको छ ।
घोडाघोडी नगरपालिकाका नगरप्रमुख ममताप्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न बैठकले ७ दिनभित्र नगरभरीको वास्तविक तथ्याङ्क सङ्कलन गरी राहतको कार्य अगाडि बढाउने निर्णय गरेकोछ । नगरप्रमुख चौधरीले धानखेती क्षतिबारे सबै वडाबाट वास्तविक तथ्याङ्क प्राप्त भएपछि राहत व्यवस्थानमा सहज हुने बताउनुभयो ।\
उहाँले भन्नुभयो ‘पहिला त वास्तविक पीडित कति छन्, कति क्षेत्रफलको धान क्षति भएको छ, सबै वडाको वास्तविक तथ्याङ्क आएपछि नगरपालिकाले राहतका लागि पहल गर्न सहज हुने र वास्तविक पीडित पनि राहत पाउनबाट बन्चित हुने छैनन् ।’
बैठकमा सबै वडाका वडाअध्यक्षले बुधवार देखि नै तथ्याङ्क संकलनको कार्य अगाडि बढाउने बताएका छन् । वडाका कर्मचारी जनप्रतिनिधि विभिन्न राजनीतिक दलका टोल कमिटीसँग सहकार्य गरेर यथाशीघ्र क्षतीबारे तथ्याङ्क संकलन गरिने बताउनुभएको छ ।