खुला | प्रदेश |

रतुवा खोलाले सात घर बगायो, १७ घर उच्च जोखिममा

विष्णुप्रसाद पोखरेल
दमक, कार्तिक ३ गते । लगातारको अविरल वर्षासँगै रतुवा खोलामा आएको बाढीले दमक ७ स्थित गेटवानका ७ वटा घर बगाएको छ भने १७ वटा घर उच्च जोखिममा परेका छन् ।

स्थानीय सुवास लिम्बू, रामकुमारी लावती, खड्ग लिम्बू, डम्बरवहादुर श्रेष्ठ, बिष्णुमाया लिम्बू, मिना लिम्बू र डम्बर श्रेष्ठको घर बाढीले बगाएको प्रहरीले जनाएको छ ।

वडा नं. ७ का वडाध्यक्ष भीम पौड्यालका अनुसार राती १० बजेको समयमा खोला अधिक बढेको र घरहरु भत्काउन थालेको जानकारी आएपछि त्यहाँ आफूहरुसहित प्रहरी पुगेर मानिसहरुको उद्धार गरिएको छ । मानवीय क्षति नभए पनि ७ वटा घर बगाउँदा करिब एक करोड रुपियाँको क्षति भएको प्रारम्भिक अनुमान रहेको उहाँले बताउनुभयो ।

उच्च जोखिम पहिचान गरिएका १७ वटा घरका बासिन्दालाई सुरक्षित हुनका लागि आफूहरुले आग्रह गरेको पौड्यालले बताउनुभयो । यहाँ बर्षौअघि लगाइएको पक्की बाँध भत्केपछि घर बगाएको हो । वडा कार्यालयको पहलमा तत्काललै अस्थाई रुपमा बाँध बाध्ने तथा ढुङ्गा, जाली, बोरामा बालुवा भर्ने लगायतका काम शुरु गरिएको पौड्यालले जानकारी दिनुभयो ।

गेटवानको पश्चिमको बाटो बाढीले भत्काएको र कटान गरिरहेकाले रेडक्रस तथा पशुहाटतर्फ खोला छिर्ने सम्भावाना बढेको वडा नं. ७ का वडा सदस्य श्याम कार्कीले बताउनुभयो । गेटवानको बाँध र बाटो भत्काएपछि खोला अनियन्त्रित भएर दमकको मुख्य चोकसम्म पुग्नसक्ने र राजमार्गमा असर पर्ने भएपछि खोला रोकथामका लागि सबै उपाय अपनाइने तयारी स्थानीय सरकारले गरेको छ ।

यसैबीच झापाको कन्काई, रतुवा, बिरिङलगायतका खोलामा आएको बाढीले जिल्लामा ३ सय ५० भन्दा बढी घरपरिवार डुबानमा परेको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले बताउनुभयो । बाढीका कारण समस्यामा परेकाको उद्धार र खानपीनको ब्यवस्थापन स्थानीय तहमार्फत भइरहेको जनाएको छ ।

यसैगरी गौरीगन्जको होक्लाबारीमा चारैतिरैबाट कन्काइको बाढीले छेकेपछि यहाँ रहेका ४५ घर विस्थापित भएको र ८५ घर बाढीको उच्च जोखिममा रहेको रेडक्रस झापाका सभापति लोकराज ढकालले जानकारी दिनुभयो ।