भीमदत्त राजमार्ग र केआईसिंह राजमार्ग अझै अवरुद्ध
राजेन्द्र ठगुन्ना
अमरगढी, कात्तिक ४ गते । सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अझै अवरुद्ध छ । कात्तिक १ गते डोटीको गैराबजार नजिकै पहिरो खसेर अवरुद्ध भएको सडक सुचारु गर्न केही समय लाग्ने जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता प्रहरी निरीक्षक राजेन्द्रबहादुर चन्दले बताउनुभयो ।
उहाँले भन्नुभयो “भीमदत्त राजमार्गका धेरै ठाउँमा पहिरोले सडक अवरुद्ध छ, सडक सफा गरी सुचारु गर्ने प्रयास स्वरुप काम भइरहेको छ ।” गैराबजार नजिक सडक माथिबाट डाँडा नै खसेकाले बिहीबार पनि राजमार्ग सुचारु हुन नसक्ने उहाँले बताउनुभयो । तीन दिनदेखि पहिरोले बाटोमै अलपत्र रहनुभएका डडेल्धुराका राजेन्द्रबहादुर मगरले बाटो सुचारु हुन अझै समय लाग्ने बताउनुभयो ।
डडेल्धुराको स्याउलेदेखि डोटीको सिलगढीसम्मको डा. केआई सिंह राजमार्ग पनि अवरुद्ध छ । डडेल्धुराको गन्यापधुरा २ रडुवाखोला नजिक करिब ३ सय मिटर जति नै सडक भत्किएपछि सो राजमार्ग अवरुद्ध भएको छ । सडक नै भत्किएकाले सडक डिभिजनले निर्माण गरेपछि मात्रै सुचारु गर्न सकिने अवस्थामा रहेको प्रहरी निरीक्षक चन्दले बताउनुभयो ।
भीमदत्त राजमार्ग अवरुद्ध भएपछि लामो तथा छोटो दूरीका सवारी सधान र यात्रुहरु विभिन्न ठाउँमा अलपत्र पर्नुभएको छ । डडेल्धुरा सदरमुकाममा रहेका होटेलहरुमा बस्ने ठाउँ नपाएर स्याउले नजिकै घर भएका होटेल व्यवसायीहरुले आफ्नो घरमा लगेर यात्रुहरुलाई खाना खुवाइरहनुभएको स्थानीय युवा खेमबहादुर साउँदले बताउनुभयो ।
पहिरोले राजमार्गमा अलपत्र परेका व्यक्तिहरुलाई पानी, बिस्कुट तथा चाउचाउ दिएर सहयोग गर्दैआएको अमरगढी नगरपालिका ५ का प्रदीपकुमार पन्तले बताउनुभयो ।