खुला | प्रदेश |

विपदबाट ज्यान गुमाएका परिवारलाई दुई लाख रुपियाँ उपलब्ध गराउने कर्णाली सरकारको निर्णय

मुना हमाल
सुर्खेत, कात्तिक ५ गते । कर्णाली प्रदेश सरकारले बाढी पहिरोमा परी ज्यान गुमाएका व्यक्तिका परिवारलाई दुई लाख रुपियाँ उपलब्ध गराउने निर्णय भएको छ । शुक्रबार बिहान मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले तत्काल दुई लाख रुपियाँ उपलब्ध गराउने निर्णय गरेको हो ।

प्रदेश सरकारले गरेको सामूहिक विपद् दुर्घटना बीमाबाट दुई लाख रुपियाँ उपलब्ध गराउने प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री सीताकुमारी नेपालीले जानकारी दिनुभयो । कर्णाली प्रदेशमा पछिल्लो समय बाढी पहिरोबाट सात जनाको मृत्यु हुनुकासाथै एक जना बेपत्ता भएका छन् । चार जना घाइते छन् । प्रदेश सरकारले विपद्मा परी घाइते भएका व्यक्तिको उपचार व्यहोर्ने निर्णय गरिएको नेपालीले बताउनुभयो ।

यस्तै बैठकले विपद्काकारण अवरुद्ध भएको सडक, पुल, खानेपानी, सिंचाई र विद्युत पूर्वाधारको मर्मत सम्भार गरी तत्काल सुचारु गर्ने र खेतीबालीमा भएको क्षतिको एकिन विवरण सङ्कलन गरी कृषकलाई क्षतिपूर्तिको व्यवस्था गर्ने निर्णय गरेको छ ।

बैठकले कर्णालीमा पूर्णरुपमा क्षति भएका घरको विवरण सङ्कलन गरी सङ्घीय र स्थानीय सरकारसँग समन्वय गरी पुनःनिर्माण तथा पुनःस्र्थापना गर्ने पनि निर्णय गरेको छ । विपदका कारण क्षतिग्रस्त विद्यालय भवन र स्वास्थ्यचौकी भवनको लगत सङ्कलन गरी पुनःनिर्माणको व्यवस्था मिलाउने पनि मन्त्री नेपालीले जानकारी दिनुभयो ।