खुला | प्रदेश |

६ वटा गाउँपालिकामा एमालेको सर्वसम्मत नेतृत्व

राजन राउत
हुम्ला कात्तिक १२ गते । नेकपा (एमाले) को ६ वटा गाउँपालिका अधिवेशनबाट सर्वसम्मतत नेतृत्व चयन भएका छन् । केही समय लगाएर भए पनि पार्टीलाई एक ढिक्का र समझदारी बनाएर सहमतिमा नेतृत्व चयन भएको एमालेले जनाएको छ ।

एमाले हुम्लाका अध्यक्ष दलबहादुर रावलले नाम्खा गाउँपालिकासहित ६ वटा गाउँपालिकामा अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गरेको बताउनुभयो । उहाँकाअनुसार यसरी सर्वसम्मत नेतृत्व चयन भएका गाउँपालिकामा नाम्खामा तोपछिरिङ तामाङ, सिमकोटमा चीनबहादुर रावत, सर्केगार्डमा भिमबहादुर शाही, अदानचुलीमा बुध भण्डारी, चंखेलीमा टेकबहादुर शाही र ताँजाकोटमा प्रदिप थापा अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको छ ।

अधिवेशनबाट नेतृत्व चयन हुन ढिलो हुनुमा आकांक्षी बढी रहेको र सहमति खोज्न समय लागेको एमालेले जनाएको छ । एमालेको गाउँपालिका अधिवेशन कात्तिक ९ गते सुरु भएको थियो । अधिवेशन सम्पन्न भएका गाउँपालिकामा महिला एक जना भए पनि पदाधिकारीमा चयन भएको उहाँले बताउनुभयो । त्यसैगरि खार्पुनाथ गाउँपालिकाको अधिवेशन कात्तिक १३ गतेका लागि तोकिएको छ ।

एमालेको गाउँपालिका कमिटीमा पनि ३३ प्रतिशत महिला सहभागिता अनिवार्य गरिएको छ । वडा र गाउँपालिकाका कमिटी गरी एक हजार आठ सय ८९ जना नेतृत्व चयन हुनेछन् ।