खुला | प्रदेश |

भारतमा मजदुरी गर्न गएका तीन जनाको शङ्कास्पद मृत्यु

जनार्जन खत्री
सर्लाही, कात्तिक १२ गते । सर्लाहीबाट मजदुरीका लागि भारत पुगेका तीन मजदुरको शङ्कास्पद मृत्यु भएको छ । भारतको उत्तरप्रदेशस्थित आलु भण्डारण गरेर राखिने कोल्ड स्टोरमा काम गर्न पुगेका चन्द्रनगर गाउँपालिका– ६, कामदका दुई जना र ईश्वरपुर नगरपालिका–३, भक्तिपुरका एक मजदुरको मृत्यु भएको हो । मृत्यु हुनेमा कामदका ३९ वर्षीय जगदिश माझी र २९ वर्षीय नन्दलाल माझी तथा भक्तिपुरका ४० वर्षीय सुमन भुजेल रहनुभएको छ । मृत्युको कारण खुल्न सकेको छैन् ।

सँगै गएका तीन जना साथीको मृत्युपछि गाउँ फर्किएर आउनुभएका अन्य व्यक्तिहरुले विषाक्त घरेलु मदिरा सेवनबाट ज्यान गएको हुनसक्ने आशङ्का गर्नुभएको छ । त्यस कुराको आधिकारिक पुष्टी भएको छैन । कामदका मुसहर युवा रितेजराज माझीले गाउँकै ठेकेदारले युवाहरुलाई कामका लागि लगेर श्रम शोषण गरेको बताउनुभयो ।

ऋण तिर्न त्यहाँ काम गर्न पुगेकालाई थोरै पारिश्रमिकमा धेरै समय काममा लगाउने गरिएको सुन्नमा आएकाले यसबारे ठेकेदारलाई पक्राउ गरी अनुसन्धान गर्नुपर्ने उहाँको माग छ । कामदका वडाध्यक्ष रामचन्द्र कापरले गाउँका दुई जनाको मृत्यु भएपछि घर फर्किएर आउनुभएका पन्ध्र बीस जनामध्ये पाँचजना यहाँ आएपछि बेहोस भएर बिरामी पर्नुभएको जानकारी दिनुभयो ।

उहाँहरुमध्ये चार जनालाई बयलवासमा र एक जनालाई मलङ्गवामा उपचारका लागि पठाएको वडाध्यक्ष कापरले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले कामद् गाउँका दुई जना मृतकको शव भारतबाट ल्याएपछि परिवारले मृत्युको कारण पत्ता लगाउन पोष्टमार्टम गरिदिन आग्रह गरेको बताउनुभयो । मृतकहरुको जिल्ला अस्पताल मलङ्गवामा पोष्टमार्टम गराइदिएको बताउनुभयो । कामद्का दुई जना मृतकको शव पोष्टमार्टमपछि बिहिवार साँझ गाउँमा ल्याएर अन्त्येष्टि गरिएको छ भने भक्तिपुरका मृतकको शव भारतमै पोष्टमार्टम गरेर यसअघि नै अन्त्येष्टि गरिएको छ ।