खुला | प्रदेश | समाज |

गाउँमै सामाजिक सुरक्षा भत्ता


बेलिना थापा
लमजुङ, कात्तिक १३ गते । लमजुङको मस्र्याङदी गाउँपालिकाका नागरिकले गाउँगाउँमै सामाजिक सुरक्षा भत्ता पाएका छन् ।
गाउँपालिकाले सबै वडाका गाउँमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेको छ । गाउँपालिका अध्यक्ष अर्जुन गुरुङका अनुसार गाउँपालिकाको वडा नं. १ देखि ९ सम्मका गाउँगाउँमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण भइरहेको छ । सिभिल बैंक लिमिटेड भुलभुले शाखाको सहयोगमा गाउँमै पुगेर वितरण थालेको गुरुङले बताउनुभयो । बैंकिङ प्रणालीमार्फत भत्ता वितरण भइरहेको बताउनुभयो ।
बंैकमा जाँदा भिडभाड हुने, कुर्नुपर्ने भएकाले गाउँमै पुगेर वितरण गरिएको हो । जेष्ठनागरिक, एकल महिला, अपांगता भएका व्यक्तिलाई नागरिकता वा मतदाता परिचय पत्र र भत्ताको कार्डको आधारमा प्रदान गरिएको छ । टोलटोलमा भत्ता वितरण भइरहेको र आउन नसक्नेलाई घरमै पुगेर पनि वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।
कार्यपालिका सदस्य पारकाशी गुरुङका अनुसार गाउँपालिकाले अशक्त र अपांगता भएकाको हकमा जनप्रतिनिधीको समन्वयमा सेवा प्रदान गरेको छ । नागरिकलाई बैंकसम्म आउन समस्या हुने भएकाले गाउँगाउँमा पुगेर वितरण गरिएको बताउनुभयो । गाउँपालिकाले बैंकको कर्मचारीको साथमा कात्तिक ४ र ५ गते वडा नं. ३ मा, कात्तिक ७ गते र ८ गते वडा नं. ९ मा, कात्तिक ९ र १० गते वडा नं. ८ मा सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । कात्तिक ११ गते बिहीबार र १२ गते शुक्रबार वडा नं. ७ मा वितरण गरेको छ । कात्तिक १४ गते र १५ गते वडा नं. २ मा र कात्तिक १६ र १७ गते वडा नं. १ का टोलटोलमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिने गाउँपालिकाले जनाएको छ । गाउँगाउँमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण थालिएपछि नागरिक खुसी भएका छन् । बैंक जानुपर्ने झन्झट हटेको भन्दै घरमै सामाजिक सुरक्षा भत्ता पाउँदा नागरिकको अनुहार उज्यालो भएको छ । गाउँपालिकाले नागरिकको सहजतालाई मध्यनजर गर्दै काम गर्दै आएको गाउँपालिकाले जनाएको छ ।

लमजुङको मस्र्याङदी गाउँपालिकाद्धारा गाउँमै सामाजिक सुुरक्षा भत्ता वितरण गर्दै । तस्बिरः लमजुङ समाचारदाता ।