साँफे–मार्तडी अवरुद्ध सडक आजबाट सुचारु हुँदै
शेरबहादुर सार्की
बाजुरा, कात्तिक १३ गते । दुई हप्तादेखि अविरल वर्षाका कारण पहिरो गएपछि अवरुद्ध बनेको साँफे–मार्तडी लोकमार्ग आजबाट पुनः सुचारु हुने भएको छ । गत असोज ३१ देखि कात्तिक २ गते सम्म बाजुरामा लगातार परेको अविरल वर्षाले साँफे मार्तडी सडक खण्ड अन्तर्गतको बल्दे पहिरो गएपछि सडक अवरुद्ध भएको थियो ।
जिल्ला प्रशासन कार्यालय बाजुराले अवरुद्ध सडक खुलाउन सडक डिभिजन साँफेबगर अछामलाई जानकरी गर्ने वित्तिकै डिभिजन साँफेले मर्मत कार्य सुरु गर्दै आएको हो ।
बल्दे अम्कोट सडकमा निरन्तररुपमा काम गरेपछि त्यो ठाउँमा आजबाट सडक सञ्चालनमा आउने भएको सडक डिकभिजन कार्यालय अछामले जनाएको छ ।
सवारी साधान मार्तडीमा नपुग्दा जिल्लाका व्यापारीहरुलाई समान ढुवानी गर्नुका साथै यात्रुलाई आवागमन गर्न समस्या भएको थियो ।
व्यापारीहरुलाई सामान ढुवानी गर्न असहजता भएपछि उपभोक्ताले पनि चुर्को मूल्यमा दैनिक उपभोग्यका सामान खरिद गर्दा महँगीको मार खेप्दै आएका छन् ।
यति बेला लामो समय डोजरको निरन्तरताले सदरमुकाम मार्तडीसम्म साना सवारी साधान जीप र ट्रयाक्टर सुचारु हुने सडक डिभिजन कार्यालय अछामका प्राविधिक गोकुल गिरीले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘ठूला सवारी साधन बस, ट्रकहरु अझै सुचारु हुन सक्ने अवस्थामा छैनन् । गत जेठ २३ गते आएको अविरल वर्षाका कारण साँफे मार्तडी सडकखण्ड अन्तर्गत पर्ने बल्दे अम्कोटमा ठूलो पहिरो गएपछि अहिले काम गर्न निकै समस्या भएको छ ।
पहिरोमा लगातार काम गर्दै गएपछि दशैँ अगाबै ठूला सवारीसाधन पनि केही दिन मार्तडीमा पुग्ने गरेका थिए । असोज ३१ गते फेरि आएको वर्षाले अम्कोट बल्देको सडकलाई तहस नहस पारेपछि अहिले लामो दुरीका सवारी साधन सुचारु बल्देमा थन्किएका छन् ।
सडक आंशिक रुपमा सुचारु भए पनि लामो दुरीका सवारी साधनलाई सुचारु गर्न भने अझै समय लाग्ने प्राविधिक गिरीको बताउनुभयो ।
दुइ हप्ता सम्म बाटो बन्दा हुँदा जिल्लामा औषधी लगायत दैनिक उपभोग्य सामाग्रीको समेत अभाव हुँदै आएको थियो ।
बाटो बन्द हुँदा जिल्ला स्वास्थ्य कार्यालय बाजुरामा पनि केही औषधी सकिन लागेको थियो । अहिले बाटो सुचारु हुने भएपछि त्यो औषधी ढुवानी गर्न सहज भएको जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख दयाकृष्ण पन्तले बताउनुभयो ।
जिल्लाको सडक अवस्था बुझन् जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीको नेतृत्वमा गएको जिल्लास्थित सरोकारवालाको टोलीले पनि अवरुद्ध सडकको अनुगमन गरेपछि अहिले तत्कालका लागि त्यसै ठाउँमा मर्मत गरेर आशिकरुपमा छोटा दुरीका सवारी साधन सुचारु गर्ने भनेपछि डिभिजन कार्यालय अछामले पनि सोही ठाउँमा सडक सुचारु गरेको हो ।
सडक सुचारु गर्न विगत लामो समय देखि डोजरको प्रयोग गर्दै आए पनि अविरल वर्षात्का कारण सडको तलमाथी दुबैतिरबाट पहिरो लाग्न नरोकिएपछि सडक अवरुद्ध हुँदै गएको जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले बताउनुभयो ।