खुला | प्रदेश |

कावासोती खानेपानी टङ्कीमा स्क्याडा प्रविधि जडान गरिँदै

ज्ञानु पंगेनी
कावासोती, कात्तिक १३ गते । पूर्वी नवलपरासीको सदरमुकाम कावासोती नगरपालिकामा रहेको कावासोती खानेपानी तथा सरसफाई उपभोक्ता संस्थामा अत्याधुनिक प्रविधि स्क्याडा जडान गरिने भएको छ ।

खानेपानी तथा ढल निकास विभाग, शहरी खानेपानी तथा सरसफाईं आयोजनामार्फत् कावासोती खानेपानी तथा सरसफाई आयोजनाका लागि करीब ५ करोड रुपिँया लागतमा अत्याधुनिक प्रविधि स्क्याडा जडान तथा संचालन गर्ने प्रक्रिया अघि बढेको छ ।

“यो एक डिजिटल (स्वचालित) प्रविधि हो । यो प्रविधिमार्फत् खानेपानीको मुहान (उत्पादन हुने) र वितरण गर्ने स्थानमा डिजिटल मिटर जडान गरिन्छ” संस्थाका व्यवस्थापक बाबुराम ज्ञवालीले बताउनुभयो । उहाँकाअनुसार यो प्रविधि जडान भएपछि मोवाईल एप्समार्फत् कार्यालयमै बसेर नियमन गर्न सकिन्छ । “स्क्याडा प्रविधि कावासोती खानेपानीमा पाईलट प्रोजेक्टका रुपमा सुरु हुँदैछ । यो प्रविधी जडान भएपछि मोवाईलबाटै टंकीमा भएको पानीबारे जानकारी लिन सकिन्छ” उहाँले भन्नुभयो ।

कावासोती खानेपानी संस्थाको छ वटा टंकी छन् । टंकीमा स्क्याडा जडान गरिनेछ । कावासोती खानेपानी संस्थाका अध्यक्ष भिमलाल कंडेलले प्रविधिमैत्री बन्दैगएको पछिल्लो समयमा कावासोती खानेपानीलाई पनि प्रविधिमैत्री बनाउन लागिएको बताउनुभयो ।