कैलालीको स्थानीय तहमा बाह्रौं जनगणनाको तीव्र तयारी
चाँदनी आचार्य
लम्की (कैलाली) कात्तिक १३ गते । यही कात्तिक २५ गते देखि मंसिर ९ गतेसम्म हुने १२ औं जनगणनाका लागि शनिबारदेखि स्थानीय जनगणना कार्यालयले गणकहरुलाई तालिम दिन शुरु गरेको छ ।
शनिबारदेखि शुरु भएको तालिम १६ गतेसम्म चल्ने जनाइएको छ । तालिममा खुल्ला आव्हानबाट छनोट भएका देशभरका करिब ३९ हजार गणक सहभागी रहेको केन्द्रिय तथ्याङ्क विभागले जनाएको छ ।
कैलालीमा दुईवटा स्थानीय तह हेर्नेगरी एक–एक वटा अस्थायी स्थानीय जनगणना कार्यालय स्थापना गरी काम शुरु गरिएको छ । कैलारी र गौरीगंगा नगरपालिका हेर्नेगरी चौमालामा स्थापना गरिएको स्थानीय जनगणना कार्यालयमा स्थानीय जनगणना अधिकारी बिरेन्द्र ऐरले शनिबारदेखि चार दिनसम्म गणकहरुलाई दुई ठाउँमा तालिमको व्यवस्थापन गरिएको बताउनुभयो ।
भौगोलिकरुपमा गौरीगंगा र कैलारी गाउँपालिका टाढा रहेकाले सबैलाई एकैठाउँमा तालिम दिन असम्भव भएपछि दुई ठाउँमा तालिमको व्यवस्था गरेको उहाँले बताउनुभयो । कैलारी गाउँपालिकाका ४७ र गौरीगंगा गाउँपालिकाका ६३ जना गणक तालिममा सहभागि रहेको उहाँले जानकारी दिनुभयो ।
गत भदौ ३० गते देखि १८ गतेसम्म पहिलो चरणमा घरमा पुगी घरपरिवार सूचीकरण गर्नेकार्य भैसकेको बताउँदै स्थानीय अधिकारी ऐरले गौरीगंगा नगरपालिकामा १३ हजार बढी घरपरिवार र कैलारी गाउँपालिकाम १० हजार बढी घरपरिवारको विवरण संकलन हुने जनाउनुभयो ।
त्यसैगरी घोडाघोडी नगरपालिकामा शनिबार नगरप्रमुख ममताप्रसाद चौधरीले तालिम उद्घाटन गर्नुभयो । बर्दगोरिया गाउँपालिका र घोडाघोडी नगरपालिका हेर्नेगरी सुखडमा स्थापना भएको स्थानीय जनगणना कार्यालयका स्थानीय अधिकारी उमेश रेग्मीले बर्दगोरियाका २० र घोडाघोडीका ४३ जना गणकहरु तालिममा सहभागी रहेको बताउनुभयो ।
कैलालीमा २ वटा जिल्ला जनगणना कार्यालय स्थापना गरिएको छ । कैलालीको पूर्वीक्षेत्रका ८ वटा पालिका हेर्नेगरी ‘ख’ अन्र्तगत लम्कीमा स्थापना भएको जिल्ला जनगणना कार्यालयका प्रमुख स्थानीय जनगणना अधिकारी भीम शाखले चार दिनसम्म सञ्चालन हुने तालिममा ५१६ जना गणकहरु सहभागी रहेको बताउनुभयो ।
पहाडी क्षेत्रमा एकजना गणकले १५० देखि १७५ घरपरिवार र तराई क्षेत्रमा २५० देखि २७५ घरपरिवारको १५ दिनमा तथ्याङ्क संकलनका लागि गणक छनोट गरिएको जनाइएको छ ।
उहाँले तालिममा गणकहरुलाई घर–घरमा पुगेर सोधिने ७५ वटा प्रश्नावलीका विषयमा जानकारी गराईने जनाउनुभयो । तोकिएकै समयमा गणना सम्पन्न गर्नेगरी कार्य भैरहेको समते बताउँदै शाखले कात्तिक २५ गतेदेखि घर–घरमा आउने कर्मचारीलाई सही विवरण उपलब्ध गराई सहयोग गरिदिन उहाँले अनुरोध गर्नुभयो ।