खुला | प्रदेश |

स्थानीयले भेटाएको कस्तुरी डिभिजन वन कार्यालयलाई जिम्मा

राजन रावत
हुम्ला, कात्तिक १३ गते । नाम्खा र सिमकोट गाउँपालिकाको सिमाना हेक्पा खोलामा आत्तिएर आएको अवस्थामा फेलापरेको कस्तुरी स्थानीयले डिभिजन वन कार्यालय हुम्लामा बुझाएका छन् । जंगलमा बस्ने कस्तुरीको संरक्षण र व्यवस्थापनका लागि भेटाउने स्थानीयले कस्तुरीलाई कार्यालयमा बुझाएका हुन् ।

भेटाउनेमध्येका एक जना स्थानीय शरदचन्द शाहीले निकै टाढाबाट मलसाब्रोले लखेटेर ल्याइरहेको अबस्थामा हेक्पा खोलाको किनारमा थाकेको अबस्थामा कस्तुरी भेटाएको बताउनुभयो । खेतमा काम गरिरहेकाबेला लखेटेर ल्याएको कस्तुरी देखेपछि उहाँहरु मिलेर छोप्नुभएको बताउनुभयो ।

थाकेको अबस्थामा रहेको कारण समात्न सकिएको बताउँदै त्यसलाई कार्यालयमा लगेर बुझाउने कार्य भएको जानकारी दिनुभयो । छ महिनाको कस्तुरी नाम्खा गाउँपालिकाको जंगल र बुट्यान क्षेत्रबाट लखेटेर ल्याएको हुनसक्ने अनुमान स्थानीयले गरेका छन् ।

भेटाएपछि यसको संरक्षण र व्यवस्थापन गर्न कार्यालयलाई सहज होला भनेरै सिमकोटमा रहेको कार्यालयमा पुगेर बुझाएको शाहीले बताउनुभयो । अन्दाजी आठदेखि नौ केजी तौल भएको कस्तुरी बुझ्दै कार्यालय प्रमुख रेनुका न्यौपानेले सुरक्षित खोर बनाएर राखिएको बताउनुभयो । खोरमा राखिएको कस्तुरी घाँस र पानी समेत खाने गरेको जानकारी दिनुभयो ।

नेपालमा पाईने चारवटा जातिका कस्तुरीमध्ये हुम्लामा स्थानीयले भेटाएको कस्तुरी हिमालय मक्सडिएर हो । अब राष्ट्रिय निकुन्ज तथा बन्यजन्तु संरक्षण ऐनअनुसार त्यसको व्यवस्थापन गर्ने उहाँले बताउनुभयो । यो जातिको कस्तुरी दुई हजार पाँच सयदेखि चार हजार मिटर उचाईसम्म रहँदै आउनेगरेको उहाँको भनाइ छ । यसको आयु १४ देखि १५ वर्षसम्म हुने बताइन्छ ।