चौध दिनदेखि सिमकोट खार्पु सडक अवरुद्ध
राजन रावत
हुम्ला, कात्तिक १४ गते । कर्णाली करिडोर अन्र्तगतको सिमकोट खार्पु खण्डको सडक दुई हप्तादेखि अवरुद्ध हुँदै आएको छ । कात्तिक ३ गतेसम्म परेको अविरल वर्षाले भत्काएको सडकको मर्मत र ढुङ्गा पन्छाउने कार्य नभएपछि सडक सुचारु हुन नसकेको हो ।
पैदल यात्रु प्रकाशबहादुर शाहीले सिमकोट खार्पु खण्डको ११ किलो मिटर सडकमा मात्र १३ वटा स्थानमा सडक माथिबाट आएको पहिरोले सडक अवरुद्ध भएको १४ दिन भएको जानकारी दिनुभएको हो । उहाँले सडक भत्किएयता यातायात सुचारु नभएपछि यात्रुहरु भत्केकै सडकमा जोखिम उठाएर हिँड्न वाध्य हुँदै आएको बताउनुभयो । ती स्थानहरुमा सत्तरी मिटर लम्बाई र चालीस मिटर उचाईबाट पहिरो खसेर सडक अवरुद्ध बनाएकाले विना मेसिन मर्मत गर्न नसकिने उहाँले बताउनुभयो । ठूल्ठूला ढुङ्गासहितको माटोका ढिस्काले सडक भरिएको कारण पैदल यात्रुहरुलाई पनि यात्रा गर्न कठिन हुँदै आएको छ ।
सो बाटो उहाँले गाउँपालिका, पुर्बाधार बिकास कार्यालय र सडक आयोजना कस्ने मर्मत गर्नुपर्ने भए पनि हालसम्म त्यसको सुनुवाई हुन नसकेको गुनासो गर्नुभयो ।
यसका लागि स्थानीय बासिन्दा जिल्ला प्रशासन कार्यालयमा समेत डेलिगेशन जानु भएको थियो । पूर्वाधार विकास कार्यालयका प्रमुख देवी ऐडीले मर्मतका लागि बजेटको अभाव भएकाले सबै क्षेति पुगेको भागको मर्मत गर्न नसकिने बताउनुभयो ।
मर्मत कार्य केही स्थानमा कार्यालयले गर्न सुरु गरे पनि बीचमा रोकिएको छ । हिल्सा सिमकोट सडक आयोजनाका योजना प्रमुख बिसुनदास लामाले गाउँपालिका, पूर्वाधार र आयोजनाको समन्वयमा मर्मत कार्य अगाडि बढाउने तयारी भइरहेको बताउनुभयो