सडक सफासुग्घर राख्न वरिपरिको अतिक्रमण हटाइँँदै
शिवशंङ्कर मिश्र
बारा, कात्तिक १४ गते । तिहार भित्रिन शुरु भएपछि कलैया उपमहानगरपालिकाले सडक सरसफाईलाई तिव्रता दिएको छ । उपमहानगरपालिकाको वातावरण शाखाले चाडपर्व लक्षित सरसफाई अभियान शुरुगरेको हो ।
बाटो वरिपरिको अतिक्रमण हटाउने, सरसफाई गर्ने अभियानलाई तिव्रता दिइएको वातावरण शाखाका प्रमुख रामजी मण्डलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “चाडपर्व आएकाले नगरभरिको सडक आसपासका क्षेत्रलाई सरसफाई गर्ने अभियान सञ्चालन गरिएको छ ।
मानमत मटिअर्वा सडकखण्ड अन्तर्गत कलैयाको भरतचौकदेखि उत्तर देवकोटा चौक जाने बाटोको वरिपरि रहेको रुखहरु काटेर हटाइएको छ । मानमत मटिअर्वा पिलुवा सडकखण्ड अन्तर्गत रंगपुरदेखि मदिन टोलसम्मको बाँकी रहेको सडक निर्माण कार्य चाँडै नै सञ्चालन हुनेभएको छ । सडक वरिपरि रहेको अतिक्रमण रुख घरलगायतका सामग्रीहरु हटाई सडक खाली गर्ने काम शुरु गरिएको उहाँले जानकारी दिनुभयो ।
सडक निर्माण गर्ने ठेकेदारले सडकमा भएको अवरोधहरु हटाई सडक खाली गराई निर्माणका लागि वातावरण तयार गरिदिन आग्रह गरेकाले उपमहानगरपालिकाले सडक वरिपरि रहेको अतिक्रमण रुखविरुवा लगायतका सामग्रीहरु हटाउने अभियान सञ्चालन गरेको हो ।
चाडपर्वका बेला भएकाले सडक सफासुग्घर होस भन्ने उद्देश्यले नगरको सडक सरसफाईमा आफूहरु लागेको कलैया नगरप्रमुख राजेश राय यादवले जानकारी दिनुभयो ।