सिन्धुलीका छ वटा पालिका कोरोना सङक्रमणमुक्त
बाबुराम देवकाेटा
सिन्धुलीमाढी, कात्तिक १५ गते । सिन्धुली जिल्लामा रहेका नौ वटा पालिकामध्ये छ वटा पालिका दोस्रो लहरको कोरोना सङक्रमण शून्यमा झरेको छ । जिल्लाका तीनपाटन गाउँपालिका, फिक्कल गाउँपालिका, गोलन्जोर गाउँपालिका, घ्याङ्लेख गाउँपालिका, मरिण गाउँपालिका र हरिहरपुरगढी गाउँपालिकामा कोरोना सङक्रमण शून्यमा झरेको स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ ।
कार्यालयका अनुसार हाल कमलमाई नगरपालिकामा ३२ जना, दुधौली नगरपालिकामा आठ जना र सुनकोसी गाउँपालिकामा तीन जना कोरोना सङक्रमित छन् । उनीहरुको होम आइसोलेसनमा उपचार भइरहेको छ ।
सिन्धुली जिल्लामा दोस्रो लहरमा कोरोनाबाट तीन हजार २५१ सङक्रमित भएका छन् । तीमध्ये ४५ जनाको मृत्यु भएको छ भने तीन हजार १६३ जना निको भएर घर गएका पनि कार्यालयले जनाएको छ ।
कार्यालयका कोभिड १९ फोकल पर्सन सन्तोष माझीका अनुसार फिक्कल गाउँपालिकामा ३५३ जनामा दोस्रो लहरको कोरोना सङ्क्रमण भएको थियो । तीमध्ये पाँच जनाको मृत्यु भएको र बाँकी ३४८ जना कोरोना सङक्रमणमुक्त भएका छन् ।
त्यस्तै, सुनकोशी गाउँपालिकामा २५३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । तीन मध्ये तीन जना हाल होम आइसोलेसनमा बसेर उपचार गराइरहेका र बाँकी सङक्रमणमुक्त भएका छन् ।
उता, घ्याङ्लेख गाउँपालिकामा पनि २०७ जनामा कोरोना सङक्रमण पुष्टि भएकोमा सबै जनाले कोरोनालाई जितेर सङ्क्रमणमुक्त भइसकेका छन् । हरिहरपुरगढी गाउँपालिकामा हालसम्म ३३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकोमा दुई जनाको ज्यान गएको छ । बाँकी सबै जनाले कोरोना जितेर सङक्रमण मुक्त भइसकेका छन् ।
कमलामाई नगरपालिकामा ९१० जनामा सङक्रमण पुष्टि भएकोमा ८५८ जना सङक्रमणमुक्त भएका छन् । अहिले ३२ जना होम आइसोलेसनमा बसेर उपचार गरि रहेका छन् । त्यस्तै, २० जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । दुधौली नगरपालिकामा ५०१ जनामा सङ्क्रमण पुष्टि भएकोमा ४८५ जना सङक्रमण मुक्त भएका छन् । अहिले आठ जना होम आइसोलेसनमा बसेर उपचार गरिरहेका छन् भने आठ जनाले ज्यान गुमाएको फोकल पर्सन माझीले जानकारी दिनुभयो ।
तीनपाटन गाउँपालिकामा २२४ जनामा सङ्क्रमण पुष्टि भएकोमा तीन जनाले ज्यान गुमाएका छन् भने बाँकी सङ्क्रमणमुक्त भइसकेका छन् । गोलन्जोर गाउँपालिकामा ३०४ जनामा सङ्क्रमण पुष्टि भएकोमा दुई जनाले ज्यान गुमाएका छन् भने बाँकी सङक्रमणमुक्त भइसकेका छन् । त्यसैगरी मरिण गाउँपालिकामा ४६६ जनामा सङ्क्रमण पुष्टि भएकोमा ४६१ जना सङक्रमणमुक्त भइसकेका छन् ।
मरिणमा पाँच जनाले ज्यान गुमाएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार सिन्धुलीमा ८३ हजारभन्दा बढीले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । जिल्लाका ८३ हजार ३२२ जनाले कोरोनाविरुद्धको पहिलो मात्रा लगाएका छन् । दुवै मात्रा लगाउनेको सङ्ख्या ३९ हजार ७१८ छ ।
जिल्लामा विभिन्न चरणमा कोभिशिल्ड, भेरोसेल, जोन्सोन, एष्ट्राजेनेका खोप अभियान सञ्चालन हुँदै आएको छ । त्यसक्रममा ४५ वर्षमाथिका नागरिक, १८ वर्ष माथिका विद्यार्थी, व्यवसायी, पत्रकार, सुरक्षा निकाय, कर्मचारीलगायतलाई प्राथमिकताका आधारमा खोप लगाइएको छ ।