नक्कली चुरोट बरामद
विजयकुमार साह
ढल्केवर, कात्तिक १७ गते । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले नक्कली खुकुरी चुरोट बरामद गरेको छ । राजस्वका कर्मचारीले धनुषाको क्षीरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरस्थि शङ्कर जेनरल स्टोर्स र चन्दन किराना स्टोर्सबाट चार सय ९९ डब्बा नक्कली खुकुरी चुरोट बरामद गरेका हुन् ।
सूर्य टोबाको नेपाल प्रा.लिद्वारा उत्पादित खुकुरी चुरोटसँग मिल्दोजुल्दो नक्कली खुकुरी चुरोटको विक्री वितरण भइरहेको गोप्य सूचनाको आधारमा राजस्वका कर्मचारीहरुले मङ्गलबार सो पसलहरुमा छापा मारेर नक्कली चुरोट फेला पारेका थिए ।
नक्कली चुरोटसँगै शङ्कर जेनरल स्टोर्सका सञ्चालक शङ्कर साहलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको आन्तरिक राजस्व कार्यालय जनकपुरधामले जनाएको छ ।
‘नक्कली खुकुरी चुरोट र असली चुरोटमा अन्तर सम्बन्धमा सूर्य नेपाल प्रालिले उत्पादन गरेको सक्कली चुरोटको डब्बामा गाढा रातो रङ हुन्छ भने नक्कलीमा कम रातो छ । सक्कलीमा अन्त शुल्कको स्टिकर लोगो छ भने नक्कलीमा त्यस्तो केही हुँदैन, राजस्वका कर्मचारीले भन्नुभयो ।’
नक्कली चुरोटको कारोबार धनुषा तथा महोत्तरीको सहरी तथा ग्रामीण क्षेत्रमा निर्वाध बिक्रीवितरण भइरहेको छ । यो समस्या धनुषा जिल्लामा मात्र नभई प्रदेश दुईका आठ वटै जिल्लामा रहेको छ ।
धनुषाको ढल्केबर, महेन्द्रनगर, यदुकोहा, सबैला, भठियन, भररिया, गोदारलगायत स्थानमा छ्याप्छ्याप्ती रुपमा नेपाली ब्राण्डका खुकुरी र शिखरको नक्कली चुरोटको विक्रीवितरण भइरहेको छ ।