दार्चुलाको सात स्थानीय तहमा एमालेको अधिवेशन सम्पन्न
लोकेन्द्र जोशी
दार्चुला, कात्तिक १७ गते । नेकपा (एमाले) ले दार्चुलाका नौँमध्ये सात वटा स्थानीय तहमा पालिका अधिवेसन सम्पन्न गरेको छ । ६१ वडा रहेको जिल्लामा व्यास गाउँपालिका १ बाहेक ६० वडामा अधिवेशन सहमतिमै नेतृत्व चयन गर्दै सम्पन्न भएको हो ।
लेकम र मालिकार्जुन गाउँपालिकावाहेक सात वटा स्थानीय तहमा पालिकास्तरीय अधिवेसन सम्पन्न भइसकेको एमाले दार्चुलाका अध्यक्ष रामदत्त जोशीले जानकारी दिनुभयो ।
जिल्ला सदरमुकामस्थित महाकाली नगरपालिकामा नरसिंह चैसीर नगरकमिटी अध्यक्ष चयन हुनुभएको छ । मार्मा गाउँपालिकामा धिरेन्द्रसिह बिष्ट, नौगाड गाउँपालिकामा जनकसिंह ठगुन्ना, व्यास गाउँपालिकामा मंगलसिंह धामी, दुहुँ गाउँपालिकामा जङ्गबहादुर बम, अपि हिमाल गाउँपालिकामा पोखरसिह रोकाय गाउँपालिका कमिटी अध्यक्ष चयन हुनुभएको छ ।
बुधबार शैल्यशिखर नगरपालिकामा अधिवेशन सम्पन्न भएको छ । लेकम गाउँपालिकामा कात्तिक १८ गते र मालिकार्जुन गाउँपालिकामा कात्तिक १९ गते पालिका अधिवेशनको आयोजना गरिएको एमाले दार्चुलाका प्रचारप्रसार विभाग प्रमुख खडक बडालले जानकारी दिनुभयो ।
दार्चुलाका सबै पालिकामा सांसद, एमालेका केन्द्रीय सदस्य एवं सुदूरपश्चिम प्रदेश कमिटी सहइन्चार्ज गणेशसिंह ठगुन्नाको प्रमुख आतिथ्यमा अधिवेशन आयोजना गरिएको थियो । एमाले दार्चुलाले जिल्ला अधिवेशन मङ्सिर ६ र ७ गते जिल्ला सदरमुकाम खलङ्गामा आयोजना गर्ने निर्णय गरेको छ ।